धरान । नेपाल टी २० क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा दुई खेलाडीसहित १० जनाको संलग्नता खुलेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले म्याच फिक्सिङमा दुई खेलाडी, चार बिचौलियासहित १० जनाको संलग्नता रहेको जनाएको हो । सिआइबीले पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम र हालका राष्ट्रिय खेलाडी आदिल आलमलाई सोमबार सप्तरीबाट पक्राउ गरेको थियो । ब्यूरोले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी टोलीमध्येका काठमाडौँ नाइट्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका व्यवस्थापकको पनि संलग्नता रहेको जनाएको छ ।

त्यस्तै एक नेपाली र एक विदेशी गरी दुईजना खेलाडीको पनि संलग्नता रहेको सिआइबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए । एसपी थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन देखाएको तथा दुई खेलाडी र चार बिचौलियासहित १० जनाको घटनामा संलग्नता पुष्टि भएको जनाए । अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँसम्म प्रस्ताव गरिएको सिआइबीको भनाइ छ ।

गृह मन्त्रालयको निर्देशनपश्चात् सिआइबीले अनुसन्धान थालेको थियो । फिक्सिङका लागि प्रत्यक्ष, सामाजिक सञ्जाल, फोन र सन्देशको माध्यमबाट प्रलोभनमा पार्ने प्रयास गरेको खुलेको छ । प्रतियोगिताको व्यापारिक पार्टनरको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सको भूमिका शङ्कास्पद रहेको सिआइबीको अनुसन्धानले देखाएको छ ।

गत पुस ९ गतेबाट प्रतियोगिता सुरु भएको थियो । लिग चरणको खेलमा काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल दौरानमा दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै खेल्न अस्वीकार गरेपछि फिक्सिङ प्रकरण बाहिरिएको थियो । खेलकै दौरानमा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको जनाएका थिए । उनले उक्त विषयमा एन्टी करप्सन युनिट (एसियु)लाई जानकारी गराएको समेत बताएका थिए ।

आदिललाई एउटा नो बल र एउटा वाइड फाल्नका लागि आग्रह गरिएको थियो । फिक्सिङमा संलग्न अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छ । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको चरणमा रहेकाले नाम सार्वजनिक गर्दा पक्राउ गर्न समस्या पर्ने भन्दै नाम सार्वजनिक नगरेको उल्लेख गरे । मुलुकी अपराध संहिता २०७४ ले मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजायको व्यवस्था गरेको छ ।