धरान । महिला सञ्जाल धरान नगरसमितिको छैठौं पदस्थापन सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न गरिएको छ ।

केही समयअघि निर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको निवर्तमान अध्यक्ष चेतना श्रेङले जानकारी दिइन् । सपना राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

यसक्रममा संस्थाको मुखपत्र शक्ति विमोचन गरिएको छ । संस्थाकी पूर्वअध्यक्ष शीला बज्राचार्यको सम्पादनमा प्रकाशित पुस्तकलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ की सांसद् सपना परियार, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले विमोचन गरे ।

यस्तै संस्थाकी सदस्यसमेत रहेकी प्रदेश १ की सांसद् यशोदा कायस्थलाई पनि सम्मानसहित बिदाइ गरिएको छ । यसैबीच संस्थाका सल्लाहकार सुनिल नेपाल, मोहन श्रेष्ठ र विष्णु बराललाई सम्मान–पत्रले सम्मानित गरिएको छ । त्यस्तै पूर्वअध्यक्षहरूमा शीला बज्राचार्य र सविता राईलाई पनि सम्मानित गरिएको छ ।

हाल सञ्जालमा ४६ वटा सङ्घ–संस्थाहरू आबद्ध छन् । सञ्जालले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । यसैबीच निवर्तमान पदाधिकारीहरूलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको छ ।