विराटनगर  । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मङ्गलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो ।

हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोर्ट्स मिट गर्न लागेको उनले बताए । ०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

हिसान स्पोर्ट्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन् । यस स्पोर्ट्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र/छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र/छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्त दिने छन् ।