धरान । धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको आयोजनामा सम्पन्न ९ औं युजीए भलिबल प्रतियोगितामा छात्रतर्फ धरानस्थित नेपाल पुलिस स्कुल र छात्रातर्फ आयोजकले नै उपाधि जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा पुलिस स्कुलले र इटहरीको तरहरास्थित ज्ञानदर्पण एकेडेमीलाई हराएको हो । छात्रामा धरानको युनाइटेड गोर्खा एकेडेमी ‘बी’ ले हाम्रो बोर्डिङ स्कुल इटहरीलाई पराजित गरेको छ ।

यस्तै तेस्रो उपाधिका लागि छात्रतर्फ धरानको युनाइटेड गोर्खा एकेडेमीले इटहरीको नमुना बोर्डिङ स्कुललाई पराजित गरेको हो । छात्रातर्फ सेक्रेट हार्ट इङ्लिस बोर्डिङ स्कुल इटहरीले धरानको आइडियल बोर्डिङलाई हराएको छ ।

विजेता दुवै टिमले नगद २३ हजार रुपैयाँसहित ट्रफी पाएका छन् । दोस्रो हुने टिमले जनही १८ हजार र तेस्रो हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाण–पत्र पाए ।

अनुशासित टिमलाई ५ हजार नगद र प्रमाण–पत्रका साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । यसपटक प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १४ गरी १९ विद्यालय सहभागी रहेको थियो । युनाइटेडले हरेक वर्ष भलिबल प्रतियोगिता गराउँदै आएको छ ।