विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजाअनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण र २ कास्य पदकसहित आफ्नो अग्रता कायम गरेको हो ।

पूर्वाञ्चल एकाडेमीलाई मिक्लाजुङ गाउँपालिकाको मिनील्याण्ड स्कुललाई २ स्वर्ण पदकसहित पछ्याइरहेको छ । यस्तै सुन्दरहरंैचाको सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुलले १ स्वर्ण र ३ रजत पदक पाएको छ । यस्तै रङ्गेलीको बालदेवदुत विद्यामन्दिर, विराटनगरको बूढानिलकण्ठ, एभरेष्ट स्कुल र बिकेभिएम स्कुलले १–१ स्वर्ण पदक जितेका छन् ।

शनिबार पाँच खेल सम्पन्न भएको छ । ८ सय मिटर छात्रातर्फको दौडमा प्रथम सिद्धार्थ स्कुलका मेमोसा राई, द्वितीय जनम मेमोरियल स्कुलका सन्ध्या खान र तृतीय शारदा स्कुलका रूपमकुमार ठाकुर भए ।

सोही विधाको छात्रतर्फ प्रथम मिक्लाजुङ गाउँपालिकास्थित मिनील्याण्ड स्कुलका सन्तोष सहनी प्रथम, सिद्धार्थ स्कुलका सुमित साह द्वितीय र पूर्वाञ्चल एकाडेमीका गोकुल श्रेष्ठ तृतीय भएका छन् । यसैगरी लङजम्प छात्रतर्फ पूर्वाञ्चल एकाडेमीका सोयल चौधरी प्रथम, सिद्धार्थ स्कुलका सुबोद चौधरी द्वितीय र एभरेष्ट स्कुलका अपर्ण कार्की तृतीय भएका छन् ।

१६ सय मिटर दौड छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमी, द्वितीय सिद्धार्थ र तृतीय जनक मेमोरियल स्कुल भयो । यस्तै सटपुट छात्रातर्फको प्रथम पूर्वाञ्चल भएको छ । द्वितीय मुनाल आदर्श र तृतीय एभरेष्ट स्कुल भयो । यस्तै ज्यावलिन थ्रो छात्रतर्फ प्रथम पूर्वाञ्चल एकाडेमी, द्वितीय जनक मेमोरियल र तृतीय बालदेवदुत स्कुल भयो ।

बास्केटबलको उपाधि बिकेभिएमलाई
प्याब्सन स्पोटर्स मिटअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । शनिबार सम्पन्न भएको बास्केटबलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कोरले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको हो ।

उपविजेता सगरमाथा स्कुल भयो । तृतीय विराटनगरको एभरेष्ट स्कुल भएको छ । एभरेष्टले स्कुलले सिद्धार्थ स्कुललाई २५–३ स्कोरलले हराउँदै एभरेष्ट तेस्रो भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बिकेभिएमका मुकेशकुमार महतो घोषित भए ।

टेबलटेनिसको टिम इभेन्टमा एभरेष्ट
प्याब्सन स्पोटर््स मिट अन्तर्गत छात्र टिम इभेन्टतर्फको टेबलटेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुलले स्वर्ण पदक जितेको छ । एभरेष्टले विराटनगरको सगरमाथा स्कुललाई पराजित गरेको हो ।

सोही विधाको छात्रतर्फको फाइनल आइतबार हुनेछ । फाइनलमा ग्यालेक्सी पब्लिक हाई स्कुल र सगरमाथा स्कुल पुगेको छ । यस्तै छात्रा सिङ्गलतर्फको फाइनलमा सगरमाथाका निकिता तामाङ र एभरेष्टका एन्जिला पन्त पुगेका छन् । यस्तै छात्र सिङ्गलतर्फको फाइनल ग्यालेक्सी पब्लिक हाई स्कुलका प्रत्यूष ढकाल र सगरमाथा स्कुलका उज्वल तामाङ पुगेका छन् । टेबलटेनिस सिङ्गलको फाइनल आइतबार हुनेछ ।

फुटबलको फाइनलमा शिक्षा सदन र सिद्धार्थ
फुटबलको फाइनलमा बेलबारीको शिक्षा सदन र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । शिक्षा सदनले सुनगाभा स्कुललाई ३–० गोलले हराउँदै शिक्षा सदन फाइनलमा पुगेको हो । जितको लागि आसेस मगरले दुई गोल र सुरेश लिम्बूले १ गोल गरेका थिए ।

यस्तै सिद्धार्थ स्कुलले ब्राइटफ्युचर स्कुललाई २–० गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । जितको लागि सिद्धार्थका सन्देश चौधरी र अनम पराजुलीले गोल गरेका थिए । फुटबलको फाइनल आइतबार हुनेछ ।

भलिबलको फाइनलमा चार स्कुल
कक्षा दशसम्म अध्ययनरत छात्रातर्फको भलिबल प्रतियोगितामा मोरङ पब्लिक स्कुल र लेटाङको ग्रिनभ्याली स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ब्राइटफ्युचर स्कुललाई पराजित गरी मोरङ पब्लिक स्कुल फाइनलमा पुगेको हो । 

यस्तै कक्षा ११ र १२ बीच भएको छात्रतर्फको भलिबलमा कोसी मोडल र सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । कोसी मोडलले एभरेष्ट पथरीलाई हराउँदै फाइनलमा पुगेको हो । सिद्धार्थ स्कुलले भृकुटी मोडललाई हराउँदै सिद्धार्थ फाइनलमा पुगेको हो ।

आइतबार समापन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङका सचिव जगत बस्नेतले जानकारी दिए । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, ट्रिपल जम्प, हाइजम्प, लङजम्प, दौडलगायतका खेलहरू हुनेछन् । स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरिका २ सय २० वटा प्याब्सनमा आबद्ध विद्यालयले भाग लिएका छन् ।

Sports

sports-3