हङकङ सरकारले हङकङ नेपाली महासंघकी अध्यक्ष तथा समाजसेवी रीता गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेको छ ।
हङकङ सरकारको गृह तथा युवा मामिला मन्त्रालय अन्तर्गतको महिला आयोगमा शुक्रबार गुरुङ सहित सात जनालाई नियुक्त गरिएको हो । जसमध्ये नेपाली समुदायबाट गुरुङ एकमात्र सदस्य हुन् । आयोग सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ ।
गृह र युवा मामिलाका सचिव एलिस माकले विज्ञप्ती जारी गर्दै आयोगले स्थापना भएदेखि नै हङकङमा महिलाहरूको हितका लागि काम गरिरहेको बताएकी छन् । आयोगका सदस्यहरुले सरकारलाई महिलासम्बन्धी नीति निर्माणमा सल्लाह दिने काम गर्छन् ।
लामो समयदेखि हङकङमा रहेर सामाजिक काममा सक्रिय गुरुङले सरकारले महिला आयोगमा नियुक्त गरेपछि आफ्नो जिम्मेवारी अझै बढेको बताईन् । उनी हङकङको नेपाली समुदायका विभिन्न संस्थामा रहेर नेतृत्व गर्दै आएकी छन् । नेपाल क्लब हङकङको समेत अध्यक्ष रहेकी गुरुङले समाजमा पुर्याएको योगदानको कदर गर्दै हङकङ सरकारले सन् २०१६मा ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड प्रदान गरेको थियो । गुरुङले हङकङ सरकार अन्तर्गतका विभिन्न समितिमा रहेर काम गरिसकेकी छन् । हङकङमा रहेका जातीय अल्पसंख्यक समुदायको हक हितका लागि पनि उनी सक्रिय रुपमा काम गरिरहेकी छन् ।