धरान । धरानमा प्रधान कार्यालय रहेको मितेरी विकास बैङ्कको नवनिर्वाचित अध्यक्ष किशन मास्केले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बुधबार १७ औँ वार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित गरेको हो । उनलाई नेपाल राष्ट्र बैङ्कको विराटनगरस्थित कार्यालयका प्रमुख निर्देशक मीना पाण्डेले सपथ ग्रहण गराएकी हुन् । उनले नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समितिलाई धन्यवाद ज्ञापन गरिन् । उनले वाणिज्य बैङ्कहरू तल्लो स्तरमा अर्थात् सर्वसाधारणमा पुग्न सकेनन् भनेर नै राष्ट्र बैङ्कले विकास बैङ्कहरू स्थापना गर्न दिएको बताइन् ।

क्षेत्रीय आवश्यकताहरू पहिचान गर्दै सोहीअनुसारको लगानीको वातावरण अगाडि बढाउन आग्रह गरिन् । विकास बैङ्कहरू जुन उद्देश्यले राष्ट्र बैङ्कले विस्तार गर्ने नीति लिएको थियो सोहीअनुसार नै काम गरेको आफूहरूले पाएको उनले बतइन् । ‘एकाधबाहेक राष्ट्र बैङ्कको उद्देश्यअनुसार नै रिजनल बैङ्कहरूले काम गरिरहेको पाएका छौँ’–उनले भने ।

नवनिर्वाचित अध्यक्ष मास्केले राष्ट्र बैङ्कले गरेका निर्देशनहरू मान्दै आएको र अबका दिनमा पनि मान्ने बताए । उनले बैङ्क सञ्चालक समितिको भन्दा पनि निक्षेपकर्ताहरूको रहेकाले उनीहरूको हितका निम्ति काम गर्ने बताए । उनले राष्ट्र बैङ्कले कुनै पनि खालका सर्कुलर गर्दा विकास बैङ्क त्यसमा पनि क्षेत्रीय रूपमा रहेका बैङ्कहरूलाई पनि हेरेर सर्कुलर गरिदिन आग्रह गरे ।

कार्यक्रममा बैङ्कका कार्यकारी प्रमुख तुलसी वस्तीलगायत संस्थापक सदस्यहरूको पनि उपस्थिति रहेको थियो । साधारणसभाले १३ प्रतिशत लाभांश वितरण गरेको छ । बैङ्कको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने पारित गरेका थिए । बैङ्कले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।

बैङ्कमा कुल निक्षेप ६ अर्ब १२ करोड ४४ हजार रुपैयाँ रहेको छ भने कुल कर्जा ५ अर्ब ४ करोड ४८ लाख रुपैयाँ रहेको जनाइएको छ । १ नं. प्रदेशमा मोरङ, झापा, सुनसरी, धनकुटा र  उदयरपुर जिल्ला बैङ्कको कार्यक्षेत्र रहेको छ ।