धरान । धनकुटाको सहिदभूमिस्थित खाल्सा क्षेत्रमा शिलान्यास भएको २१ वर्षपछि सडक कालोपत्रे हुने भएको छ ।

यो क्षेत्रमा २०५८ सालमा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए । प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो ।

मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो ।

सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौँका  प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए ।

यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी  जिल्लासँग जोड्नेछ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महŒवपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषिउपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।