सुनसरी  । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट सुनसरीमा नेकपा (एमाले) बलियो पार्टी बनेको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४ वटा क्षेत्र रहेकोे सुनसरीमा यसपटकको निर्वाचनबाट नेकपा (एमाले) ले २ वटा क्षेत्र जितेको छ भने एमाले समर्थित दल जनता समाजवादी पार्टी नेपालले एउटा क्षेत्र जितेको अवस्था छ । यस्तै प्रदेशसभा सदस्यतर्फ ८ वटा क्षेत्र रहेकोमा नेकपा (एमाले)ले ६ वटामा जित हासिल गरेको छ भने अन्य २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी बनेका छन् । सुनसरीमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभातर्फ नेपाली काङ्ग्रेसले क्षेत्र नम्बर २, ३ र ४ जितेको थियो भने क्षेत्र नम्बर १ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का जयकुमार राई निर्वाचित भएका थिए भने क्षेत्रनम्बर २ मा नेपाली काङ्ग्रेसका सीताराम मेहता, क्षेत्रनम्बर ३ बाट विजयकुमार गच्छदार र क्षेत्रनम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । यसपटकको निर्वाचनमा सत्ता गठबन्धनतर्फ नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जनमोर्चा पार्टी मिलेर चुनावी मैदानमा थिए भने अर्कोतर्फ नेकपा (एमाले)को नेतृत्वमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसहितका राजनीतिक दल चुनावी तालमेल गरी चुनावी मैदानमा थिए ।

सुनसरी क्षेत्रनम्बर १ मा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईलाई नेकपा (एमाले) ले समर्थन गरेको थियो । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणामअनुसार जसपा उम्मेदवार राई १७ हजार ५९ मत ल्याएर विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी नेपालकी उम्मेदवार गोमा तामाङ १६ हजार ६ सय ६ मत प्राप्त गरी दोस्रो भइन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत प्राप्त गरी तेस्रो भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक राईले ७ हजार ८ सय ८४ मत प्राप्त गरे । यस्तै कम्युनिष्टको पकड भएको क्षेत्रमा नेकपा (एमाले) ले आफ्नो उम्मेदवार नउठाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङ्बोले ७ हजार ८ सय १२ मत प्राप्त गरे ।

यसैगरी सुनसरी क्षेत्रनम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका सीताराम मेहतालाई हराउँदै नेकपा (एमाले)का भीमप्रसाद आचार्य विजयी बने । उनले ३२ हजार २४ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मेहता २६ हजार ६८ मतसहित दोस्रो भए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३ सय ९२ मत ल्याएर तेस्रो स्थान प्राप्त गरे । सुनसरी क्षेत्रनम्बर ३ मा भने नेपाली काङ्ग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले हराउँदै नेकपा (एमाले) नेतृ भगवती चौधरी निर्वाचित भइन् । भगवतीले ४० हजार ७ सय ८८ मत ल्याएर निर्वाचित भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार गच्छदारले ३५ हजार ६ सय मत मात्रै ल्याए । यसरी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका गच्छदारलाई सुनसरी क्षेत्रनम्बर ३ मा नेकपा (एमाले)की नेतृ भगवतीले पराजित गरिन् । यता सुनसरी निर्वाचन क्षेत्रनम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की आफ्नो विरासत जोगाउन सफल भए ।  आफ्नो गृह जिल्ला भोजपुर छाडेर लगातार दोस्रोपटक सुनसरीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कार्कीले कडा प्रतिस्पर्धाबीच नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गरे । बिहीबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार निर्वाचित नेपाली काङ्ग्रेसका उम्मेदवार कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे । लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्की बहालवाला सूचना,सञ्चार एवम् प्रविधि मन्त्रीसमेत हुन् ।

यता प्रदेशसभातर्फसमेत सुनसरीमा नेकपा (एमाले) बलियो पार्टी बनेको छ । सुनसरीमा प्रदेशसभा सदस्यतर्फ ८ वटा क्षेत्र रहेकोेमा एमालेले ६ वटा क्षेत्रमा जित हासिल गरेको छ भने २ वटा क्षेत्रमा नेपाली काङ्ग्रेस विजयी भएको छ । सुनसरी क्षेत्रनम्बर १ (क) बाट ११ हजार १ सय २ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार रमेश बस्नेत विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापाले ९ हजार ७ सय ५२ मत ल्याएर पराजित भए । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव श्रेष्ठले ८ हजार ३ सय ६३ मतसहित तेस्रो भए । यसैगरी सुनसरी क्षेत्रनम्बर १ (ख) बाट १२ हजार ४ सय ६५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार विजय राई निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८ सय ३९ र लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का रेवतीरमण राईले ४ हजार ९ सय ८८ मत ल्याएर तेस्रो भए । सुनसरी क्षेत्रनम्बर २ (क) बाट १४ हजार ५ सय ३८ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार रेवतीरमण भण्डारी निर्वाचित भए भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले ११ हजार ८ सय ४५ मत ल्याएर पराजित भए ।

यस्तै सुनसरी क्षेत्रनम्बर २ (ख) बाट नेपाली काङ्ग्रेसका उम्मेदवार राजीव कोइरालालाई हराउँदै नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद महतो प्रदेशसभा सदस्य पदमा निर्वाचित भए । निर्वाचित महतोले १८ हजार २ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १७ हजार ६ सय ४३ मत प्राप्त गरे । 

सुनसरी क्षेत्र नम्बर ३ (क) बाट नेकपा (एमाले)का उम्मेदवार रोहित कार्कीले १८ हजार ६ सय ४१ मत ल्याएर निर्वाचित भए भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की सरस्वती पोखरेलले २ हजार ६ सय ८३ मत मात्रै प्राप्त गरिन् । यस्तै सुनसरी क्षेत्रनम्बर ३ (ख) बाट नेकपा (एमाले)का उम्मेदवार रामदेव यादवले १९ हजार ४ सय ७९ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार विन्देश्वर यादवले १८ हजार ८ सय ९१ मत ल्याएर पराजित भए । यता सुनसरी क्षेत्रनम्बर ४ मा भने प्रदेशसभा (क) र (ख) दुवैतर्फ नेपाली काङ्ग्रेस विजयी भएको छ । सुनसरी क्षेत्रनम्बर ४ (क) बाट नेपाली काङ्ग्रेसका उम्मेदवार सदानन्द मण्डलले १५ हजार १ सय ९८ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार पर्शुराम बस्नेतले १२ हजार ३२ मत ल्याएर पराजित भए । यसैगरी सुनसरी क्षेत्रनम्बर ४ (ख) बाट नेपाली काङ्ग्रेसका उम्मेदवार इसराइल मन्सुरीले १४ हजार ३ सय ९५ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अब्बास अन्सारीले १२ हजार २ सय १२ मत ल्याएर पराजित भए ।