धरान । हालसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ । 

शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले ३ प्रतिशत (थ्रेस होल्ड) कटाएको आयोगले जनाएको छ । 

समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना भइसकेको छ । त्यसमध्ये एमालेले सबैभन्दा बढी २७ लाख ७३ हजार ९ सय ९९ मत पाएको छ । काङ्ग्रेसले २६ लाख ४४ हजार २ सय ४१, माओवादी ११ लाख ६१ हजार २ सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९ सय ९६ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९ सय २१, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४५ मत पाएका छन् ।

हाल दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चालु रहेकाले त्यसको परिणाम आउन बाँकी छ । दलहरूले पाएको मतसङ्ख्याका आधारमा समानुपातिक सांसद्हरू निर्वाचित हुनेछन् । 

त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने व्यवस्था छ । त्यसो गर्दा एकतिहाइ महिलाहरूको सङ्ख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानूनी व्यवस्था छ ।