पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ चौथो पटक निर्वाचित भएका छन् ।

नेपाली काङ्ग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेलाई ४६ मतको झिनो अन्तरले हराउँदै नेम्वाङ चौथो पटक निर्वाचित भएका हुन् । नेम्वाङ २०४८, २०५६ र २०७४ मा विजयी हुँदै सांसद् भएका थिए भने केपी शर्मा ओलीको पालामा भौतिक पूर्वाधार मन्त्रीसमेत भएका थिए ।

नेम्वाङलाई विगतको निर्वाचनमा जित निकाल्न सहज थियो । तर, यसपटक लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई एक्लै हराएर जित निकाल्न निकै कठिन थियो । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना हुँदा उनले काङ्ग्रेसका आङ्देम्बेलाई ४७ मतको अन्तरले हराउँदै विजयी भए ।

तर, आधिकारिकरूपमा घोषणा भएन । प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन ।

समानुपातिकतर्फका मतगणना सकेपछि मङ्गलबार बेलुका मात्रै एमालेका वसन्तकुमार नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको प्रमाण–पत्र दियो । चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मतगणना गर्दा नेम्वाङ नेपाली काङ्ग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेभन्दा ४७ मतान्तरले अघि थिए ।

तर, समानुपातिक मतपेटिकामा भेटिएका मतहरू पनि गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका हुन् । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ८९ मतमात्रै ल्याएका थिए ।

यसअघि नै पाँचथर प्रदेशसभा (क) मा एकीकृत समाजवादीका उम्मेदवार कमलप्रसाद जवेगु र (ख) क्षेत्रमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो निर्वाचित भइसकेका छन् ।