विराटनगर । अघिल्लो पटक प्रदेश १ का सांसद् बनेका र पुनः दोहो¥याउन चाहने १५ जना निवर्तमान सांसद्हरू प्रदेशसभाको निर्वाचनमा पराजित भएका छन् ।

पराजय हुनेहरूमा प्रदेश १ को मुख्यमन्त्रीको दाबी गर्नेहरू पनि रहेका छन् । प्रदेश १ को मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा आउन चाहने नेपाली काङ्ग्रेसका नेता राजीव कोइराला यस पटक सुनसरी २ (२)बाट पराजित बने । उनलाई एमालेका उम्मेदवार रामप्रसाद महतोले पराजित गरेका हुन् । उनी अघिल्लो संसद्मा काङ्ग्रेसबाट संसदीय दलका नेता थिए । कोइराला मात्रै होइन, मुख्यमन्त्रीको चाहना राख्ने एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट काङ्ग्रेस नेता भीम पराजुलीसँग पराजित बने । निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित बनिन् । उनी एमालेका उम्मेदवार रोहितबहादुर कार्कीसँग पराजित बनिन् । उनी अघिल्लो पटक माओवादी केन्द्रबाट समानुपातिक सांसद् बनेकी थिइन् ।

यस्तै अघिल्लो कार्यकालमा ओखलढुङ्गा १ बाट संसद् यात्रा तय गर्दै मन्त्रीसमेत बनेका एमाले नेता अम्बिरबाबु गुरुङ यसपटक पराजित बने । गुरुङ  काङ्ग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवारसँग पराजित भए । यस्तै एमालेबाटै सांसद् बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बुको १ बाट पराजित भए । उनी माओवादी केन्द्रका उम्मेदवार गोम्बु शेर्पासँग पराजित बने । प्रदेश १ का यातायात तथा सञ्चारमन्त्रीसमेत रहेका उपेन्द्रप्रसाद घिमिरे अघिल्लो निर्वाचनमा विजय भए पनि यस पटक सोही निर्वाचन क्षेत्रमा पराजित बने । उनी एमालेका नेता खड्ग बस्नेतसँग पराजित भए ।

माओवादी नेता कुशल लिम्बूका लागि मोरङ १ (१) बाट पुनः दोहो¥याउने लक्ष्य पूरा हुन सकेन  । उनी एमालेका उम्मेदवार उमाकान्त गौतमसँग पराजित भए । समानुपातिक सांसद् बनेकी माओवादी नेतृ कुशुमकुमारी श्रेष्ठका लागि धनकुटा २ बाट प्रत्यक्ष सांसद् जित्ने योजना अधुरै रह्यो । उनी एमालेका नेता इन्द्रमणि पराजुलीसँग पराजित भइन् ।

हालका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव साविककै निर्वाचन क्षेत्र मोरङ ५ (२)बाट पराजित बनेसँगै उनको संसद् यात्रा पनि रोकिएको छ । यादव नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालसँग पराजित भएका हुन् । यस्तै प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगरको संसद् यात्रा ५ वर्षका लागि रोकिएको छ । उनी झापा ४ (१)बाट ०७४ सालमा विजयी बन्दा यस पटक एमाले उम्मेदवार राधाकृष्ण खनालसँग पराजित बने ।

एमाले नेता तेजमान कन्दङ्वा तेह्रथुम २, माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२), एमालेबाट वसन्तकुमार बानियाँ पनि झापा ३ (१) बाट पराजित बने । अघिल्लो संसद्मा एमालेबाट समानुपातिक सांसद् बनेकी वसन्तीदेवी यादव यसपटक एमाले छोडेर मोरङ ५ (२)बाट प्रत्यक्षमा प्रतिस्पर्धा गरेपनि पराजित बनिन् । अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद् बनेकी नेकपा (एस)की नेतृ सरिता थापा पनि यसपटक सङ्खुवासभा २ बाट पराजित बनिन् ।

प्रदेश १ मा यसअघि प्रतिनिधित्व गर्ने ९३ जना सांसद्मध्ये एमाले नेता जगदीशप्रसाद कुसियैत, भीम आचार्य, शेरधन राई तथा माओवादी नेता रामकुमार राई भने सङ्घीय सांसद्को प्रतिस्पर्धामा थिए । एमाले नेताहरू कुसियैत सुनसरी ४, आचार्य सुनसरी २, राई भोजपुरबाट प्रतिस्पर्धा गरेका छन् ।

उनीहरूमध्ये आचार्य र कुसियैतले अग्रता लिए पनि शेरधन राई पराजित बनेका छन् भने माओवादी नेता रामकुमार राई पनि खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । ०७४ सालमा प्रदेश १ प्रदेशसभामा आएका अन्य ६१ जना सांसद्ले भने संसदीय प्रतिस्पर्धामा भागै लिएनन् ।

प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मतपरिणाम आइसकेको छ भने अन्य ९ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

एमाले एक्लैले २२ वटामा विजयी भइसकेको छ भने अझै ३ वटामा अग्रता कायम राखेको छ । नेपाली काङ्ग्रेस आइतबारसम्म १३ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको भने नेकपा (एस)ले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ ।