धरान । मध्यपूर्व एसियामा पर्ने कतारमा पहिलो पल्ट विश्वकप सुरु भएको छ । कतारले १२ वर्षअघि नै विश्वकप फुटबल खेलाउने अवसरको सिर्जना ग¥यो तर, त्यसयता थुप्रै खालका विवादको भूमरीमा परेको कतार विश्वकपको केही रमाइला पक्षहरू रहेका छन् । जसको चर्चा यहाँ गरिएको छ ।

३२ राष्ट्र सम्मिलित अन्तिम विश्वकप
कतार विश्वकपमा ३२ राष्ट्र सम्मिलित छन् । जुन यो अन्तिम हो । सन् २०२६ मा हुने विश्वकपमा ४८ वटा राष्ट्र समावेश गरिने फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । ३२ वटा राष्टू समावेश गरिन थालिएको पनि सन् १९९८ बाट मात्रै हो । जुन विश्वकप फ्रान्सले उचालेको थियो । सन् १९८२ देखि १९९४ सम्म २४ वटा राष्ट्रलाई मात्रै समावेश गरिएको थियो । तत्कालीन समयमा कुल ५२ वटा खेल भएका थिए ।

कतारको पहिलो विश्वकप
कतार यस्तो राष्ट्र हो, जसले पहिलो पटक विश्वकपमा सहभागी हुँदैछ । आयोजक राष्ट्र भएका हिसाबले मात्रै उसले प्रतियोगितामा सहभागी हुने मौका पाएको हो । कतार यसअघिका विश्वकपमा छनोट हुन सकेको थिएन । कतारले हालसम्म ठूला प्रतियोगिताहरूमा जित निकाल्न सकेको थिएन । उसले सन् २०१९ मा महादेशीय च्याम्पियनसिपको उपाधि जितेको थियो । उसले जापानलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । त्यसबाहेक अन्य ठूला प्रतियोगिता जित्न सकेको स्थिति छैन ।

१३४० खेलाडी सहभागी
सन् १९३० देखि विश्वकप फुटबल सुरु भएको थियो । दोस्रो विश्वयुद्धको समयमा विश्वकप फुटबल हुन सकेन । हालसम्म विश्वकपमा एक हजार ३ सय ४० जना खेलाडी सहभागी भइसकेका छन् । उनीहरूले २ हजार ५ सय ४८ गोल गरेका छन् । विश्वकप फुटबलमा २ सय ५० जना खेलाडीले मात्रै गोल गरेका छन् ।

सन् १९९८ देखि एसियाको चार टोली
फ्रान्सले पहिलो पटक उपाधि जितेको वर्ष सन् १९९८ मा एसियाको चार टोली समावेश हुँदै आएका छन् । त्यसयता कम्तीमा चार टोलीलाई मात्रै समावेश गरिँदै आएको छ । त्यसअघि भने एक–दुई देश मात्रै सहभागी हुँदै आएको थियो । अष्ट्रेलिया महादेशलाई पनि एसियामै समावेश गर्दै आएको थियो । सन् १९९८ यता चीन एकपटक मात्रै विश्वकपमा छनोट भएको थियो । एसियामा सबैभन्दा बढी छनोट हुने देशमा जापान रहेको छ । एसियाबाट चार टोली सहभागी भए पनि कुनै पनि विधामा शीर्ष १० भित्र पर्न सफल भएको छैन ।

१७ खेलदेखि ६४ खेलसम्म
सन् १९३० बाट सुरु भएको विश्वकपमा १७ देखि १८ खेल मात्रै भएका थिए । हाल ३२ राष्ट्र सम्मिलित विश्वकपमा ६४ खेल हुँदै आएको छ । सन् १९३० देखि १९३८ सम्म १७ देखि १८ खेल भएको थियो भने सन् १९५० मा २२ खेल खेलाइएको थियो । त्यस्तै १९५४ मा २६ खेल, १९५८ मा ३५ खेल, सन् १९६२ देखि ७० सम्म ३२ खेल समावेश गरिएका थिए । त्यस्तै १९७४ देखि ७८ सम्म ३८ खेल र १९८२ देखि १९९४ मा ५२ खेल समावेश गरिएका थिए ।

पहिलो पटक जाडो मौसममा
विश्वकपको क्यालेन्डरअनुसार हरेक वर्षको जुन र जुलाई महिनामा विश्वकप फुटबल हुँदै आएको थियो । तर, पहिलो पटक फिफाले नोभेम्बरमा फुटबल गराउने निर्णय गरेको हो । किनकि कतारमा प्रचण्ड गर्मी हुने कारणले गर्दा पनि जाडो मौसममा फुटबल गराइएको हो । यसबेला कतारको तापक्रम कम हुने भएकाले पनि २२ औँ विश्वकप फुटबल जाडो मौसमका बेला गराइएको हो । यसबेला युरोप महादेशमा इङ्लिस प्रिमियर लिग, युरोपा लिग, एफए कप, बुन्डेसलिगा, स्पेनिस लिगजस्ता प्रतियोगिता हुँदै आएका छन् । विश्वकप फुटबलका कारणले यस्ता प्रतियोगिता रोकिएका छन् ।