इनरुवा । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचार–संहिता विपरीत टाँगिएका तुल, ब्यानर हटाउन निर्देशन दिएको छ ।

आचार–संहिता उल्लङ्घनका उजुरी बढ्न थालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले अनुगमन समितिलाई त्यस्तो निर्देशन दिएको हो । क्षेत्र नम्बर २ र ४ केन्द्रित डाकिएको सर्वदलीय बैठकमा जिल्लाभरको प्रचार–प्रसारलाई मध्यनजर गर्दै आचार–संहिता उल्लङ्घन गरेको पाइए आवश्यक कारबाही थाल्ने गरी परिचालित हुन अनुगमन समितिलाई निर्देशन दिइएको हो ।

मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले भेलामा उपस्थित दलीय प्रतिनिधिहरूलाई आचार–संहिता विपरीत गरिएको पार्टीगत चुनावी प्रचार–प्रसार सामग्री स्वयम् हटाउन आग्रहसमेत गरेका छन् । त्यसो नगरेको खण्डमा अनुगमन समितिले कारबाही थाल्ने उनले बताए ।

भेलामा मुख्य निर्वाचन अधिकृत अधिकारीले चुनावको मिति नजिकिँदै जाँदा आचार–संहिता उल्लङ्घनका घटना बढ्दै गएको बताए । उनले सबैले आचार–संहिताको अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए ।

बैठक सुनसरी ४ का काङ्ग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आचार–संहिता उल्लङ्घन गरेको विषयमा एमालेले दिएको उजुरीउपर केन्द्रित देखिए पनि आचार–संहिता उल्लङ्घनमा कडाइ गरिने निर्णय गर्दै टुङ्गिएको थियो । 

बैठकमा उपस्थित सुनसरी एमालेका निर्वाचन संयोजक लक्ष्मी गौतमले मन्त्रीजस्तो ओहदामा बसेको व्यक्तिबाट आचार–संहिता उल्लङ्घन हुनु दुःखद् भएको बताइन् । उनले निर्वाचन अधिकृतको कार्यालयले अनुगमनमा चासो दिई समानरूपले व्यवहार गरिनुपर्ने बताइन् । गौतमले ठूलालाई छुट र सानालाई कडाइ गर्ने गरिएको पाइएकाले त्यस्तो नगर्न सुझाइन् ।

यता नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारीले निर्वाचन क्षेत्र नम्बर ४ का पार्टीका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीबाट आचार–संहिता उल्लङ्घनको कार्य नभएको भन्दै विपक्षीले बखेडा झिकेको बताए । भण्डारीले एमालेले आफ्नो पार्टीबाट आचार–संहिता उल्लङ्घन हुँदा नदेख्ने तर, अरूलाई मात्र आरोप लगाउनु जायज नभएको बताए ।

भेलामा काङ्ग्रेसका पार्टी सचिव वीरेन्द्र साहले उम्मेदवारसमेत रहेका मन्त्री कार्कीउपर लगाइएको आरोपमा सत्यता नभएको भन्दै आचार–संहिताका सवालमा भने सबै मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । 

यसैबीच सो सर्वपक्षीय भेलाले निर्वाचन क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मतगणना भगवती माविमा गर्ने सहमतिसमेत जुटाएको छ । सर्वपक्षीय भेलामा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमख र निर्वाचन अधिकृतलगायतको उपस्थिति रहेको थियो ।