मोरङ । देशभरि डेङ्गु फैलिएपछि नियन्त्रणका लागि विभिन्न स्थानीय तहले रोकथाम अभियान चलाएका छन् ।

प्रदेश १ को राजधानी रहेको स्थानीय तह विराटनगर महानगरपालिकाले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि अभियान चलाएको हो ।

डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे छर्ने अभियानलाई तीव्र पारेको महानगरका प्रेस संयोजक मीनकुमार नवोदितले जानकारी दिए । विराटनगर–४ बाट अभियान सुरु गरिएको छ । उनका अनुसार नगर प्रमुख नागेश कोइरालाले डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका थिए ।

केही दिनअघि डेङ्गुबाटै प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको थियो । नोबेल अस्पतालमा उपचाररत उनको कात्तिक २३ गते निधन भएको हो । उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार पनि रहेका थिए ।

प्रेस संयोजक नवोदितका अनुसार महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला तथा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको उपस्थितिमा स्प्रे छर्ने अभियान सुरु गरिएको हो । महानगरका १९ वटै वडामा अभियान चलाइने भएको छ ।

यसअगि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण तथा सरोकारवालासँग छलफल गरेको थियो । डेङ्गु देशको ७७ वटै जिल्लामा फैलिसकेको छ  । महानगरमा हालसम्म १ सय ४८ जना डेङ्गुका बिरामी फेला परिसकेका छन् । विशेषगरी गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ ।