धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा विश्व मधुमेह दिवस मनाइएको छ ।

हरेक वर्षको १४ नोभेम्बरमा विश्व मधुमेह दिवस पर्छ । विश्वमा बदलिएको जीवनशैलीका कारण मधुमेह विश्वभरि ‘सुषुप्त हत्यारा’ का रूपमा परिचित हुँदै गएको छ ।

यसपटकको नारा मधुमेह शिक्षा रहेको छ । प्रतिष्ठानको जेनेरल प्राक्टिस एन्ड इमर्जेन्सी विभाग तथा इन्टर्नल मेडिसिन विभागको संयुक्त आयोजनामा कार्यक्रम गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए ।

त्यसक्रममा र्यालीको आयोजना गरिएको थियो । प्रतिष्ठानको जिओपीडी अगाडिबाट सुरु भएको र्याली धरान रङ्गशाला पुगेर पुनः प्रतिष्ठानमा आई कोणसभामा परिणत भएको थियो ।

र्यालीमा प्रतिष्ठानका विभागीय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी र विद्यार्थीहरू सहभागी थिए । र्यालीमा मधुमेहसम्बन्धी जनचेतना फैलाउने खालका सन्देश र सूचना लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । त्यसक्रममा मधुमेहसम्बन्धीका पर्चा पनि वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा इन्टर्नल मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. रविन मास्के र जेनेरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. अजयकुमार यादवले मधुमेह रोगको रोकथामका उपाय, उपचार पद्दतिका बारेमा प्रकाश पारेका थिए । मधुमेह लाग्नुअगावै ध्यान दिनुपर्ने पक्षका बारेमा पनि बताइएको थियो ।

madhumeha1