धरान । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी नेपाल परित्याग गरेका धरान–१६ का सञ्जीव भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभा सुनसरी क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोको चुनाव चिह्न खरायोमा भोट हाल्न अपिल गरेका छन् ।

उनले विज्ञप्तिमा आफू १२ वर्षको उमेरमै ०६२÷६३ को जनआन्दोलनदेखि नै राजनीतिमा होमिदै आएको र भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुलुक अहिले निर्वाचनको महासङ्ग्राममा रहेको र राजनीतिक दलका उम्मेदवारहरूप्रति जनता निराश र आक्रोसित बनेको कुरा जगजाहेर भएको उल्लेख गर्दै विज्ञप्तिमा स्वतन्त्र नामको दुरुपयोग गरेर दल दर्ता गरेका रवि लामिछानेको स्वतन्त्र पार्टीभित्र पनि चरम नातावाद कृपावाद, आर्थिक अपारदर्शिता हावी भएको हुनाले सो पार्टीको प्रदेश कमिटी सभापतिसमेत त्याग गरेको बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा प्रदेश सदस्य शिल्पा भट्टराई, जिल्ला अध्यक्ष प्रेमप्रसाद तिम्सिना, धरान उपमहानगरका राम कार्की तथा धरान नगर र वडाका सम्पूर्ण पदाधिकारीहरूले सो पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

आफू पनि स्वतन्त्र अभियानको नेतृत्व गर्दै आएको हुनाले स्वतन्त्र उम्मेदवारले जित्नु पर्ने धारणा रहेको र स्वतन्त्रको बिगबिगीका बीच एउटा साझा उम्मेदवार उठाउने आफ्नो प्रयास असफल भएकोले तीमध्ये इतिहास, योग्यता, धरान र धराने जनताको विकासमा लागिपर्ने व्यक्ति मनोजकुमार मेन्याङ्बोको चुनाव चिह्न खरायोमा आफ्नो नेतृत्वमा रहेको स्वतन्त्र पार्टी नेपालका सम्पूर्ण असन्तुष्ट नेता कार्यकर्ताहरू मतदान गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।

उनले सुनसरी क्षेत्र नं. १ का सम्पूर्ण मतदाताहरूमा समेत मनोजकुमार मेन्याङ्बोलाई मतदान गर्न अपिल गरेका छन् ।