विजयपुर । कवि जमुना श्रेष्ठको ‘युगको खोजी’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

शनिबार धरान–१२ स्थित होटल पूर्वी स्टारमा एक कार्यक्रम गरी कविता सङ्ग्रह सार्वजनिक गरिएको हो । कविता सङ्ग्रह कवि सुमित्रा वाङ्देल ‘चेली’, प्रा. डा. टङ्क न्यौपाने, साहित्य अनुसन्धान परिषद् नेपाल सुनसरीका अध्यक्ष केशव वाग्लेलगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कवि श्रेष्ठलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा प्रा.डा. न्यौपानेले कवितामा नयाँ युगको खोजी रहेको बताए । उनले १० वर्षे जनयुद्धले नयाँ युगको परिकल्पना गरेको भए पनि दोहोरिएर पुरानै युगमा फर्किएको बताए ।

उनले भने, ‘त्यसैले कवितामा नयाँ युगको खोजी गरिएको छ ।’ उनले कविताले राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरेको बताए । साहित्य अनुसन्धान परिषद् नेपाल सुनसरीको आयोजना  तथा गुफाथुम्की त्रैमासिक पत्रिकाको सहकार्यमा कार्यक्रम भएको थियो ।