विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा एक्लै भएर जनतासँग सहयोग माग्न आएको बताएका छन् ।

बिहीबार धरानमा राप्रपाद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ५ वर्ष संसद्मा एक्लै भए पनि विकृति, विसङ्गति र राष्ट्रहित विपरीतका सन्धि सम्झौताविरुद्ध आवाज उठाए पनि केही गर्न नसकेकाले सहयोग माग्न आएको बताए । उनले भने, ‘म एक्लै परेँ क्या, साथी माग्न आएको छु ।’

उनले आफू अल्पमतमा भएकाले बहुमतका लागि राप्रपालाई मत दिनुपर्ने बताए । उनले आफू पनि भ्रष्ट नभएको र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि जनतासँग मद्दत माग्न आएको बताए । उनले भने, ‘मेरो यति लामो राजनीतिक यात्रामा १ रुपैयाँ भ्रष्टाचार गरेको छैन ।’ उनले २०४६ सालपछिका उच्च नेता र कर्मचारीहरूकोे सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरी जेल हाल्ने मन भएको बताए । उनले भने, ‘त्यो राजेन्द्र लिङ्देनबाहेक अरूले गर्दैन ।’

उनले २०४६ पछिका २६ वटा सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए । उनले राजनीतिक दल पनि विभाजित हुनुमा प्रणालीको दोष भएको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिए । ३६ हजार जनप्रतिनिधिलाई ऋणबाट तलब खुवाउनु पर्ने अवस्था भएको बताउँदै भने, ‘प्रदेशको खारेजी हुुनुपर्छ ।’ उनले शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क हुनुपर्ने बताए । अस्पताल भए पनि गरिबीका कारणले उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘कुनै व्यक्ति बेहोस भएर अस्पताल पु¥यायो, उपचारपछि होसमा आउँछ, उपचारको बिल सुनेपछि पुनः बेहोस हुन्छ ।’ देश बिगार्ने नेता मात्रै नभई जनता पनि भएको बताउँदै भने, ‘पुरानै पार्टीलाई भोट हाल्ने तपाईं र तपाईंको हात पनि दोषी हो ।’ राजालाई गाली गरेर राजनीतिक दलले १५ वर्षसम्म मुलुकका लागि केही नगरेको उनको भनाइ थियो ।

मुलुकमा राजा हुँदा २९ अर्ब भएको ऋण राजा हटेको ५ वर्षमा ८ खर्ब र सङ्घीयता कार्यान्वयनको ५ वर्षमा ३० खर्ब पुगेको बताए । उनले एक फरक सन्दर्भमा कृषिप्रधान मुलुकका कृषकले बर्सेनि मल नपाउने गरेको बताए । उनले भने, ‘मल खरिदमा अर्बौं बजेट विनियोजन भए पनि कमिसन गन्दागन्दै समय सकिन्छ । बालीमा लगाउन कृषकले १ बोरा मल पाउँदैन ।’

उनले नेपालका ५० लाख युवा वैदेशिक रोजगारमा जानु परेकाले मुलुकको विकास नभएको बताए । कतार, दुबईलगायतका मुलुक बनाउन सक्ने युवाले अवसर पाए नेपाल पनि बनाउन सक्ने उनको भनाइ थियो ।