ब्रिटिस आर्मीमा भर्ती भएर भविष्य निर्माण गर्ने लक्ष्य भएका झापाका बिर्तामोड निवासी बिशाल राईले २०१० देखि २०१३ सम्म तीनपटक प्रयास गरे । तीनैपटक उनी छनौट हुन असफल भए । तेस्रो प्रयासपछि राईले आर्मीमा भर्ती हुने सपना त्यागे । बि स २०४८ सालमा जन्मेका उनी आर्मीमा भर्ती हुन नसकेपछि नेपालमै केही गर्ने लक्ष्यका साथ कृषि पेशामा हाम फाले । 

बिर्तामोड नगरपालिका–१० मा उनको २ बिगाहा जमिन पैत्रिक सम्पति थियो । उनले त्यही जमिन प्रयोग गरेर कृषि पेशा अपनाउने निर्णय गरे । त्यही जमिनमा केही गरेर उदाहरणीय किसान बन्ने लक्ष्य उनले लिए । माछा तथा मासुजन्य पदार्थमा नेपाल बिदेशको भर पर्नुपरेको तथ्य उनलाई थाहा थियो । उनले बिदेशबाट हुने आयात रोकेर देशमै उत्पादन गरी मुलुकलाई आत्मनिर्भर बनाउने योजना बनाए । त्यसका लागि आफै अगि सर्ने निर्णय उनले गरे । 

२०७२ सालमा उनले झण्डै ५० लाखको लगानीमा बंगुर फर्म खोले । कोरोना महामारी शुरु भयो । फर्मभरी २ सयभन्दा बढी हुर्केका बंगुर थिए । बंगुरलाई आवश्यक पर्ने दाना अभाव भयो । दाना अभावका कारण उनले फर्म सञ्चालन गर्न नसक्ने निर्णय गरे । बजार अभाव थियो । पहिला काटेर बिक्री गर्ने पनि नसोचेका होइनन् । तर, बंगुर धेरै भएका कारण छोटो समयमा बिक्री गर्न सम्भव भएन । अनि उनले स्थानीय उपभोक्तालाई बोलाउँदै बंगुर बाँड्न थाले ।

केही समयभित्र उनले बंगुर फर्म खाली गरे । उनले अब बंगुर फर्मसमेत मासेर माछा पाल्ने निर्णय गरे । त्यसका लागि थाइल्याण्डमा गएर माछा पालनसम्बन्धी तालीम लिए । २ बिगाहा क्षेत्रफलमा ९ वटा पोखरी खने । त्यही ठाउँमा रिसोर्ट समेत सञ्चालन गर्ने योजना उनको थियो । रिसोर्टका लागि घना शहरभन्दा अलि पर शान्त वाताबरण रहेको त्यो स्थान उपयुक्त हुने उनको सोचाई थियो । 

त्यही ठाउँमा भएको उत्पादन त्यही ठाउँमा स्थापना भएको रिसोर्टमा खपत हुने भएपछि उनले योजना मुताविक काम शुरु गरे । केही क्षण मनोरञ्जनका लागि बिताउने स्थान निर्माण गर्नु उनको लक्ष्य थियो । रिसोर्टमै चारतले भ्यु टावर पनि राईले बनाए । जुन टावरबाट उनले निर्माण गरेको आकर्षक माछा पोखरी र फुलबारी लगायतका दृष्य देख्न सकिन्छ । 

राईको लक्ष्य अलि बिस्तृत थियो । उनले भूगोल मिल्ने बाँकी २ बिगाहा जमिन पनि खरीद गरेर त्यसमा ब्यवसाय बिस्तार गरे । बर्षातको समयमा अलि डुवान हुने क्षेत्र भएको हुनाले वरपरको सडक निर्माणमा सक्रियता उनले देखाए । अहिले उनको फर्ममा जाने सडक स्तरोन्नती भएको छ । 

उनले रिसोर्ट जाने चोकलाई ‘फेसबुक चोक’ नामाकरण गरे । र रिसोर्टको नाम पनि फेसबुक रिसोर्ट राखे । आकर्षक र उत्कृष्ट स्थल भएका कारण फोटो खिचेर फेसबुकमा राख्ने जमातको मनोबिज्ञान अनुसार फेसबुक रिसोर्ट नामाकरण गरेको उनले बताए । 

अरुभन्दा फरक केही गरौ भन्ने धारणा उनमा छ । त्यही कारण उनले टेबल फिस(उपभोगका लागि) मात्र उत्पादन गर्न शुरु गरेनन् । अर्नामेन्टल फिस(सजावटका माछा) समेत उत्पादन गर्न लागे । यतिबेला बिभिन्न ९ वटा पोखरीमा ५ लाख त्यस्ता माछा उत्पादन र बिक्री वितरणमा राई संलग्न छन् । अरु ७ वटा पोखरीमा टेवल फिस उत्पादन गरिरहेको उनी बताउँछन् । टेबल फिसमा पङघासिस जातको माछा उनले उत्पादन गरिरहेका छन । काँडा कम हुने जातको यो माछा उपभोक्ताको रोजाईमा पर्ने गरेको उनी बताउँछन् । 

अर्नामेन्टल फिसको देशका एकमात्र उत्पादक आफु भएको दावी राईको छ । उनको उत्पादन नेपालका सबै जिल्लामा निर्यात गर्ने गरेको उनले बताए । बिषेश गरी एक्युरियममा प्रयोग हुने माछा भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकेकोमा उनले गर्व गर्ने गरेको सुनाए । 

रातो, हरियो, पहेँलो माछा उनको फर्ममा रहेका छन् । कतिपय माछा प्रतिगोटा ८ हजार रुपैंयाँसम्ममा बिक्री हुने गरेको राई बताउँछन् । देशको आवश्यकता पुर्ती गरेको छु भन्ने कुरामा गौरव लाग्छ, राई भन्छन् । 

नेपाली मुद्रा बिदेशिनबाट रोकेका राईले राज्यले उचित सहयोग नगरेको गुनासो सुनाउँछन् । उनले माछा फर्मलाई उद्योगमा सुचिकृत गरेर कृषि ब्यवसायलाई निरुत्साहित पारेको आरोप लगाए । कृषि ब्यवसायलाई उद्योगमा सुचिकृत गरेर सोही अनुसार कर लगाउँदा आफुहरु मारमा परेको राईको गुनासो छ ।