धरान । युवापुस्तामाझ लोकप्रिय बनेकी गायिका मेलिना राईले धरानेहरूलाई नचाएकी छन् । 

फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.को आयोजनामा शुक्रबार भएको एसईई आइडलको फाइनलमा उनले आफ्नो प्रस्तुति दिँदै विद्यार्थीदेखि अभिभावकसम्मलाई नचाएकी छन् । उनको गीतमा वक्तृत्वकलाका निर्णायक महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा. सुवासप्रसाद न्यौपानेले पनि कम्मर मर्काएका छन् । उनले रातो टीका निधारमा टलक्कै टल्कियो बोलको गीत गाउन थालेपछि उप–प्राध्यापक न्यौपाने स्टेज अगिल्तिर गई नाच्न थाले । 

उनले कार्यक्रमस्थलको भावनालाई बुझेर आफ्ना डान्सिङ गीतहरू प्रस्तुत गरेकी थिइन् । उनले भनिन्, “यहाँ नाच्न चाहनुहुन्छ भन्ने मैले बुझेको छु । तेसो भकोले सिरियस गीत चाहिँ गाउँदिन ल ।” उनले पछिल्ला समयका चर्चित गीतहरू प्रस्तुत गरिन् । 

कतिपय वक्तृत्वकलामा सहभागी भएकाहरू पनि नाचेका थिए । उनले कुटुमा कुटु सुपारी दाना, मै राम्री हो कि रेशम, पिरतीको मिठो तिर्सना, भैगो भैगो तिमीसँग पिरिम नलाउने लगायतका झण्डै एक दर्जन गीत प्रस्तुत गरिन् । कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले उनीसँग तस्बिर खिच्दै अटोग्राफ पनि मागेका थिए । यस्तै अर्का गायक विकास तुम्बापोले पनि केही गीतहरू प्रस्तुत गरेका थिए ।

ff2

f1