बेलबारी । प्रकाशोन्मुख अवस्थामै रहेको बेलबारीका पत्रकार तथा साहित्यकार केशु विरहीले ‘बेलबारीको साहित्यिक इतिहास’ नामक कृतिलाई अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट बिक्री गर्न आफू इच्छुक रहेको भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट गरेको एक हप्ता नबित्दै तीन सय प्रतिभन्दा बढी प्रति बिक्री गरेका छन् ।
विरहीले केहीदिन अघिमात्र कृतिलाई प्रि–बुकिङ (अग्रिम भुक्तानी) प्रणालीमार्फत् बिक्री गर्ने सूचना फेसबुकमा पोष्ट गरेका थिए । उनले पोष्ट गरेको २४ घण्टा नबित्दै १ सय प्रतिभन्दा बढी बिक्री भएको थियो । सातौँ दिनमा ३ सय प्रति बिक्री भइसकेको उनले बताए । ‘सम्भवतः पूर्वमा यो प्रणालीबाट कृति बिक्री भएको पहिलो पटक हुनुपर्छ’–विरही भन्छन् ।
पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रुचिले आफूलाई हौस्याएको विरहीले बताए । ‘साहित्यलाई माया गरौँ, कृति मागेर होइन, किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको सुरुवात गरेको उनी बताउँछन् ।
कृतिमा बेलबारीको २०१३–२०१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास, कृति प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाहरूको परिचय र बेलबारीमा गठन भएका साहित्यिक सङ्घ–संस्थाका साथै सञ्चार मिडियाको समेत परिचय समेटिएको विरहीले बताए ।
कथा, उपन्यास, गजल, बालकथा तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यसअघि नै कहालीलाग्दा गोरेटोहरू (उपन्यास सह–लेखन २०५५), आमाको माया (उपन्यास २०५६), सुस्केरा (सामूहिक सङ्कलन २०६२), दन्किएको आगो (गजल सङ्ग्रह २०७१), भाष्कर वंशावली (वंशावली २०६५), सुलोचना (कथा सङ्ग्रह २०७१) जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् ।
यो उनको आठौँ कृतिको रूपमा बाहिर आएको हो । लामो समयदेखि बेलबारीलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका विरहीले साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने अभिप्रायले यो कृति लेखेको बताए ।
































