विजयपुर। आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि किरात खम्बुवान साझा पार्टीले प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार धरानमा सार्वजनिक प्रतिबद्धता–पत्रमा १ नं. प्रदेशको नाम किरात सुनिश्चित गर्ने उल्लेख गरेको छ । किरात प्रदेशअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा किरात खम्बुवान, किरात खम्बुवान स्वायत्तता निर्माण गर्ने जनाएको छ ।  प्रदेशसभातर्फ सुनसरी १(ख) बाट उम्मेदवारी दिएका पार्टीका अध्यक्षसमेत रहेका भूपि कोयी राईले १ नं. प्रदेशको नाम किरात राख्न पहल गर्ने बताए ।

पार्टीले २१ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । उत्पीडित, उपेक्षित, समुदायको भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

जातीय, लिङ्गीय, क्षेत्रीय, वर्गीय अन्तरविरोधको अन्त्य गर्ने, मुलुकमा दिगो शान्ति, समृद्धि, सुशासन कायम गर्ने, बिचौलिया, भ्रष्टाचार, दलाल, घूसखोरी अन्त्य, निःशुल्क स्वास्थ्य सुविधालगायतका प्रतिबद्धता छन् । किरात खम्बुवान पार्टीबाट प्रतिनिधिसभा सुनसरी १ मा देवीबहादुर राई चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभाततर्फ सुनसरी १ (क) मा सुरेशकुमार राई रहेका छन् ।