धरान । आसन्न निर्वाचनलाई लक्षित गर्दै सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मातृकाप्रसाद भट्टराईले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

बिहीबार धरानको गीता मन्दिरमा पत्रकार सम्मेलन गर्दै चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो उम्मेदवारी अप्राकृतिक गठबन्धनको विरुद्धमा रहेको बताए । धेरैले काङ्ग्रेसको बागी उम्मेदवार रहेको दाबी गरे पनि उनले आफू बागी उम्मेदवार नभएको बताए ।

उनले आफू विशुद्ध स्वतन्त्र उम्मेदवार रहेको बताए । ‘मैले बागी दिएको होइन, विशुद्ध स्वतन्त्र उम्मेदवार हुँ’–उनले भने । कार्यक्रममा उनले विगतमा गरेका  कार्यबारे पनि जानकारी गराएका थिए । उनले विगतमा धरान–११ मङ्गलबारेबाट धरान–२० जाने सर्दु खोलाको पक्की पुलका लागि १६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गर्न भूमिका खेलेको उल्लेख गरे । त्यस्तै भूमिसुधार मन्त्रालयमार्फत् धरान–६ पानबारीमा निर्माणाधीन मालपोत तथा नापी कार्यालयको भवनका लागि १० करोड बजेट विनियोजन गराएको उनले दाबी गरे । 

उनले आफू निर्वाचित भएमा आफ्नो क्षेत्रमा सूचना सञ्चार, कृषि तथा जडिबुटी प्रशोधनमा आधारित उद्योगहरूमा लगानी भिœयाउन पहल गर्ने बताए । उनले स्वच्छ खानेपानीको दिगो समाधान गर्न पहल गर्ने, मदन भण्डारी राजमार्गको सडकमा निर्माण हुन बाँकी खण्डको कार्य चाँडोभन्दा चाँडो सम्पन्न गराउनेलगायतका प्रतिबद्धता रहेका छन् ।