विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना गतिविधि एवं भेटघाटलाई तीव्र पारेका छन् ।

विशेषगरी प्रतिनिधिसभा सदस्य निर्वाचनको बढी चर्चा हुने गरेको छ र उनीहरुका आ–आफ्ना एजेण्डा रहेकाले ती एजेण्डाको सञ्चारमाध्यम तथा विभिन्नसभा सम्मेलनमा बढी मात्रामा चर्चा हुने गरेको छ । 

प्रदेशसभाका एजेण्डाका बारेमा भने सञ्चारमाध्यममा त्यति चर्चा भएको पाइँदैन । यता मोरङ जिल्लाबाट प्रदेशसभामा उम्मेदवार भएकाले भने आफ्ना एजेण्डाका साथ मतदातासँग मत मागेका छन् । विराटनगर महानगरपालिकाको पाँच वर्षे कार्यकाल सकेर यतिबेला भीम पराजुली मोरङ निर्वाचन क्षेत्र नं ४ को ‘ख’मा प्रदेशसभाको उम्मेदवार हुन् ।

पराजुली अहिले आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा छन् । विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेका पराजुली अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य पराजुली नगर सभापतिबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

विराटनगर महानगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हालीरहँदा आफूले विकासका धेरै योजना समयमै सम्पन्न गरेको, नगर क्षेत्रमा सबै बाटो कालोपत्र गरिएको, प्रत्येक वडामा वडा कार्यालय, सुन्दर एवं रमणीय पार्क, वीरेन्द्रसभागृहको जीर्णोद्धार, नगरमा स्वास्थ्य सेवाकेन्द्रलगायत काम सम्पन्न गरेकाले आफू यस क्षेत्रमा परिचित रहेको र आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गर्छन् । उनले आफूले पाएको पारिश्रमिक पनि समुदायिक विद्यालयमा हस्तान्तरण गरेकाले पनि नगर क्षेत्रमा शैक्षिक सुधारका लागि सबैको साथ र सहयोग पाएको उनको भनाइ छ । 

कोभिडका समयमा नगरवासीका घरघर पुगेर उनले सेवा गर्नुभएको र नगर क्षेत्रमा ज्येष्ठ नागरिकलाई घरैमा अक्सिजन पुर्याएका थिए । उम्मेदवार पराजुलीले जनताका काममा आफू जहिले पनि समर्पित रहेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे। आफू जनप्रतिनिधि भएमा यस क्षेत्रका जनताको चाहना र विश्वासअनुसार काम गर्ने प्रतिक्रिया उनले दिए ।

यही क्षेत्रबाट नेकपा एमालेका अर्का परिचित उम्मेदवार जीवन घिमिरे पनि रहेका छन् । उनि अघिल्लो प्रदेशसभामा निर्वाचित भएका थिए । उनि पनि यतिखेर भेटघाट, घरदैलो कार्यक्रमसँगै विकास र समृद्धिका निम्तिको यात्रा पूरा गर्नका लागि जनताको साथ र सहयोग आवश्यक परेको बताउछन् ।

यसैगरी मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले आफूले वास्तविक जनप्रतिनिधि भएर काम गरेर देखाउने आश्वासन दिन्छन् । विराटनगरबाट प्रतिनिधित्व गर्दै तीन जना प्रधानमन्त्री भए पनि यस क्षेत्रको हुनुपर्ने जतिविकास नभएकाले आफू जनप्रतिनिधिको मोडल बन्ने उनको भनाइ छ ।

उनले भने, “विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबैभन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सांस्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसाबले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।” यही क्षेत्रका गठबन्धन दल तथा नेपाली कांग्रेसका उम्मेदवार केदार कार्कीले पनि विकास र जनताको जीवनस्तर उकास्न आफूले काम गर्ने भनेका छन् ।

कार्यकर्तासँग भेटघाटमा दैनिक व्यस्त रहने उम्मेदवार कार्की यसअघि प्रदेशसभामा निर्वाचित भएका थिए । अहिले प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पदको जिम्मेवारी सम्हालेका उनले सडक निर्माण गर्नुका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण, कृषि समुदायका लागि बस्ती निर्माणलगायतका काम गगरेका छन् । 

उनले प्रदेश सरकारमा आफूले थोरै समय बिताए पनि प्रहरी सङ्गठन, राष्ट्रिय अनुसन्धानको सङ्गठनलाई बलियो बनाउने काम गर्नुका साथै चोरी तस्करी, आपराधिक क्रियाकलापलाई न्यूनीकरण एवं नियन्त्रण गरेको दाबी गर्छन् । उनले युवालाई कुलतबाट जोगाउने कार्यक्रमका साथै आपत्विपत्मा परेका जनतालाई उद्धार एवं राहत वितरणका काम पनि गरेका थिए । 

जिल्लाको निर्वाचन क्षेत्र नं ६ मा कूल मतदाता एक लाख २६ हजार सात सय ६१ मा प्रदेश ६ को ‘क’ मा ७८ हजार नौ सय ६४ र ‘ख’ मा ४७ हजार सात सय ९७ छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र एक सय ४१ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं ६ ‘ख’मा गठबन्धन दलकोतर्फबाट बनेका उम्मेदवार कार्की र नेकपा एमालेका तर्फबाट बनेका उम्मेदवार पर्शुराम बस्नेतबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।