धरान । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपाल (आइयुसिएन) ले २०६८ सालमा ‘एकीकृत जलाधार संरक्षण तथा व्यवस्थापन योजनाः सर्दुु जलाधार’ सम्बन्धी प्रतिवेदनमा सर्दु जलाधार क्षेत्र वानस्पतिक विविधतामा धनी रहेको उल्लेख छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘सर्दु जलाधारमा १ सय ४७ जातिका भास्कुलर वनस्पति रहेको छ । १ सय ३० जातिका दुई दलीय, १२ जातिका एक दलीय र ८ जातिका फूल नफुल्ने वनस्पतिहरू पाइन्छन् ।’

त्यति मात्रै हैन, प्रतिवेदनमा थप लेखिएको छ, ‘तिनीहरूको प्रयोगको आधारमा जलाधारमा पाइने वनस्पतिहरूलाई २८ थरिका औषधिजन्य बोटबिरुवा, २९ थरिका खानयोग्य वनस्पति (तरकारी, अचार र फलफूल) र २० थरिका काठजन्य वनस्पति सूचीकृत गरिएको छ ।’ सर्दु जलाधारको सानो क्षेत्रफलमा यति धेरै वनस्पतिहरू पाइए पनि त्यसको संरक्षण तथा त्यसको प्रवद्र्धनमा स्थानीय सरकारले कत्ति पनि ध्यान दिएको पाइँदैन ।

वनस्पतिविज्ञ तथा यसका अध्येताका लागि धरान वनस्पति पर्यटनको ‘हब’ बन्न सक्ने सम्भावना रहेको वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष एवम् अग्रज पत्रकार आनन्द श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘जैविक विविधताका हिसाबले असाध्यै महŒवपूर्ण छ, सानो ठाउँमा धेरै प्रकारका वनस्पति पाइन्छन् । यसको संरक्षण गर्ने हो भने वनस्पति अध्ययन गर्नेका लागि पर्यटनको ‘हब’ बन्न सक्छ ।’

सर्दु जलाधार ३९ दशमलव ३५ वर्गकिलोमिटर क्षेत्रफलभित्र फैलिएको आइयुसिएनको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रलाई वनस्पतिको अध्ययन, अनुसन्धान क्षेत्र बनाउन सकिने आधारहरू छन् । तर, हालसम्म त्यसतर्फ स्थानीय तहले कुनै प्रयास गरेको पाइँदैन । पानीका लागि आधार क्षेत्र मानिएको सर्दुलाई वनस्पतिको पनि आधार क्षेत्र बनाउन सकिने सम्भावनाहरू रहेको वनस्पति अध्येता कमल मादेन बताउँछन् । उनका अनुसार यहाँका वनस्पतिहरूको जगेर्ना गरिने हो भने पर्यापर्यटनसँग जोड्न सकिने बताउँछन् । ‘यहाँ तराई र चुरे रेन्जकै महत्वपूर्ण वनस्पतिहरू पाइन्छन् । यसलाई पर्यापर्यटनसँग जोड्न सकिन्छ’ उनले भने, ‘तर, खोज अनुसन्धान गर्नुपर्नेमा त्योअनुसार भएको छैन ।’

अध्येता मादेनका अनुसार कतिपय ‘माइग्रेसन’ भएर आएका वनस्पतिहरू पनि सर्दु जलाधार क्षेत्रमा रहेको छ । त्यस्तै तराई र पहाडसँगै पूर्वी एसियाका वनस्पतिहरू पनि यहाँ पाइने उनले बताए । आइयुसिएनको प्रतिवेदनमा भनिएको छ, ‘जलाधारको माथिल्लो क्षेत्रमा क्युरेक्स लान्टना (बाँझ) र म्याकयारङ्गा इन्डिका (मलेदो) को रुख बिरुवा र नेफ्रोलेपिस कर्डिफोलिया (पानी अमला) र हेदिचिम जाति (सारो) बुट्यान र घाँसका बिरुवालगायत विभिन्न वनस्पतिहरूको बाहुल्यता रहेको क्षेत्र हो ।

तल्लो क्षेत्रमा टे«विआ नुडिफ्लोरा (पिथारी) र अदिना कार्डिफोलिया (कारम) रुख बिरुवा लान्टना क्यामरा (वनमारा) र उडफोरडिया फ्रुक्टिकोसा (धएँरो) जस्ता झाडी बिरुवा आदिले ढाकेको छ ।’ यतिका वनस्पतिको बाहुल्यता भए पनि सर्दु जलाधार क्षेत्रमा पर्यटकहरूलाई भिœयाउन सकिएको छैन । अहिले पनि विदेशीहरू उच्च हिमाली भेगमा पर्यटनका लागि जाने चलन छ । चुरे क्षेत्रमा उनीहरूको ध्यान गएको देखिँदैन । ‘विदेशीहरू हाईअल्टिच्यूडमा मात्रै गएको देखिन्छ’ अध्येता मादेन भन्छन्, ‘चुरे क्षेत्रमा उनीहरूको इन्ट्रेस कमै देखिन्छ ।’

वनस्पतिको विविधता मात्रै नभई यहाँ जीवजन्तुको विविधता पनि उस्तै रहेको छ । प्रतिवेदनका अनुसार यहाँ स्तनधारी जीवका ८ जातिहरू छन् । त्यस्तै २६ प्रकारका चराहरू छन् । घस्रने अर्थात् सरीसृप १४ प्रकारका र उभयचर ५ प्रकारका रहेको उल्लेख छ ।

जथाभावी बिरुवा रोपण
पछिल्लो समय धरानका नगर प्रमुख हर्कराज राई साम्पाङले सर्दु जलाधार क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिरहेका छन् । यसका लागि धरानबाट मात्रै नभई विभिन्न स्थानका नागरिकहरूले सर्दु जलाधार क्षेत्रमा बिरुवा रोपण गरे । वनस्पति अध्येताहरूले यसलाई नकारात्मक रूपमा नलिए पनि व्यवस्थित रूपमा रोपण गर्नुपर्ने ठान्छन् ।

अध्येता मादेन भन्छन्, ‘अव्यवस्थित तरिकाले जे पायो, त्यही रोपिएको जस्तो देखिएको छ । प्लानिङ गरेर जानुपर्ने हो । अचानक भयोजस्तो लागेको छ ।’ नगर प्रमुख साम्पाङले करिब ५ लाख बिरुवा रोपण गर्ने दाबी गरेका छन् । धेरैले सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यवस्थित रूपमा रोपण गर्नका लागि सल्लाह पनि दिएका थिए । तर, उनले त्यसबारे कति विचार गरे त्यो आगामी दिनले देखाउला ।

जलाधार क्षेत्र भएकाले जुनसुकै बिरुवा पनि हुर्किन सक्ने सम्भावना रहेको भए पनि वनस्पतिहरूलाई क्षयीकरण गर्ने सम्भावना रहेकाले त्यसतर्फ सतर्क रहन अध्येताहरूले आग्रह गरेका छन् । वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष श्रेष्ठले जलाधार क्षेत्रहरूमा मानवीय गतिविधि ठप्प पारेमा मात्रै वनस्पतिको संरक्षण हुन सक्ने बताए ।

आइयुसिएनको प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘स्थानीय जातिको वनस्पतिलाई माटो तथा पानी संरक्षणका लागि प्रयोजनमा ल्याउनुपर्ने हुन्छ । ती वनस्पतिहरूलाई पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ विधिको प्रयोगमा उपयोग गर्नुपर्छ ।’