धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको हात्तीखर्क घर भई हाल धनकुटा–६ मा बस्दै आएकी क्यान्सर पीडित इन्द्रमाया तिगेला (खेवा) लाई मङ्गलबार नगद सहयोग गरिएको छ ।

लामो समयदेखि क्यान्सर पीडित भई उपचारत इन्द्रमायालाई यहाँस्थित फोक्ल्यान्ड टापु टोल बस्ती सङ्गठनको तर्फबाट १८ हजार नगद सहयोग गरिएको अध्यक्ष शिव तिगेलाले बताए । उनले इन्द्रमायाको उपचारका लागि आर्थिक अभाव देखिएको र क्यान्सरको बिरामीले निरन्तर डाक्टरको निगरानी र सल्लाहमा औषधि खानुपर्ने भएकाले टोलबाट रकम सङ्कलन गरी सहयोग गरिएको बताए ।

टोलबस्ती सङ्गठनले नगद हस्तान्तरणका लागि औपचारिक कार्यक्रम आयोजना गरेको थियो । टोलका सबै सदस्यहरूको उपस्थितिमा ज्येष्ठ सदस्य जेमनमाया ब्लोन तामाङले नगद पीडितालाई हस्तान्तरण गरिन् । ३६ घर टोलवासीले जनही ५ सयका दरले नगद रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको सचिव डम्बर खवाहाङ लिम्बूले बताए ।

तेहथुम जिल्ला छथर गाउँपालिका–६ घर भई हाल धनकुटा–६ फोक्ल्यान्ड टापुमा बस्दै आएका पदमबहादुर लिम्बूको पिता दिवङ्गत लोकमान लिम्बूको सम्झनामा श्रद्धाञ्जलीसभासमेत गरिएको छ । लोकमानको २०७९ असोज १० गते छथरमा निधन भएको थियो । दुःखमा परेको लोकमानका परिवारलाई फोक्ल्यान्ड टोलबस्ती सङ्गठनबाट अध्यक्ष शिवकुमार तिगेलाले समवेदना–प्रत्र प्रदान गरे ।

त्यसैगरी सहयोग स्वरूप सङ्कलन गरिएको नगद १८ हजार कोषाध्यक्ष जोसना राईले प्रदान गरिन् । धनकुटा–६ को फोक्ल्यान्ड टापु टोलबस्ती सङ्गठन २०६० सालमा दिवङ्गत लोकेन्द्र तिगेलाको अध्यक्षतामा स्थापना भएको टोल बस्ती सङ्गठनका संस्थापक सचिव एवम् हालका सल्लाहकार सन्तवीर लामाले बताए ।

हाल उक्त टोल बस्ती सङ्गठनमा ३६ घरधुरी बसोबास गरिरहेको धनकुटा नगरको १ सय २४ वटा टोलबस्ती सङ्गठनहरूमध्ये एक नमुना टोल बस्ती सङ्गठन हो ।

स्थानीय सरकारमा जनप्रतिनिधि आउनुभन्दा पहिले नगरको सबै गाउँ–टोलमा विकास निर्माणको आयोजना सञ्चालन गर्दा न्यायिक, समानुपातिक ढङ्गले विकास गर्नुपर्छ भनेर अगि बढिरहेको अवस्थामा जनप्रतिनिधि आएपछि विकासको काममा फोक्ल्यान्ड टापु टोल उपेक्षामा परेको अध्यक्ष तिगेलाले बताए ।

०७७ सालमा भारी वर्षा हुँदा फोक्ल्यान्ड टापुवासी ६ घर पहिरोको जोखिममा पर्दा २ घर विस्थापित र ४ घरमा क्षति भएको थियो । पहिरोको कारण फोक्ल्यान्ड टापु हुँदै दक्षिणकाली जाने मोटरबाटोमा क्षति पुगेको थियो ।