धरान । चाडपर्वका बेला खेलाइने विभिन्न जुवाजन्य खेलहरूलाई पूर्ण प्रतिबन्ध लगाउने प्रहरी प्रशासनले जनाएको छ । जुवाजन्य खेलहरू खेलाएको पाइएमा कानूनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । 

सुनसरी प्रहरीलाई व्यापक जनगुनासो आएपछि सोही आधारमा प्रहरीले तिहार तथा छठका बेला खेलाइने जुवाजन्य खेलहरूलाई पूर्ण प्रतिबन्ध लगाउने भएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरानका विभिन्न स्थानमा जुवाजन्य खेल जुवा, तास, लङ्गुरबुर्जा, बिङ्गो (हाउजी), लुँडोलगायतका खेलहरूमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ । इप्रकाका डिएसपी बुद्ध श्रेष्ठले धरानमा व्यापक जनगुनासो आएकाले सोहीअनुसार सुरक्षा परिचालन गरिएको बताए । धरानका २० वटै वडाका जनप्रतिनिधिहरूसँग पनि छलफल गरी प्रतिबन्ध लगाउनका लागि भूमिका खेलिदिन आग्रह गरिएको डिएसपी श्रेष्ठले बताए ।

जनप्रतिनिधिहरूले पनि आफूहरूलाई केही खेलहरूका लागि अनुमति दिन आग्रह गरेको भए पनि अनुमति दिने अधिकार आफूहरूसँग नभएको भनी फर्काएको बताएका थिए । प्रहरीले सुरक्षाको कारण देखाउँदै यस्ता खेलहरूमा प्रतिबन्ध लगाउने भएको हो ।

विशेषगरी आपराधिक गतिविधि हुने सम्भावना र केही स्थानमा यस्तै कारणले छिटफुट रूपमा अपराध पनि हुने गरेकाले पूर्ण प्रतिबन्ध लगाउन सुरक्षा परिचालन गरिएको डिएसपी श्रेष्ठले बताए । कानूनतः नै यस्ता खेलहरू प्रतिबन्धित रहेको डिएसपी श्रेष्ठले बताए । उनले कसैले खेलाएको र खेलेको पाइएमा कानूनबमोजिम सजाय र जरिबाना गरिने बताए ।

धरानमा विगतमा दशैंतिहारका बेलामा रमाइलो मेला लगाउने चलन थियो । पछिल्लो समय सुरक्षाका कारणले नै यस्ता मेलामा पनि प्रतिबन्ध लगाइएको छ ।