पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ४ स्थित त्रिवेणी चोकका अशक्त व्यक्तिको उद्धार गरी उपचार गरिदिएको छ ।

आइतबार ६० वर्षीय टेकबहादुर माझीलाई उद्धार गरी उपचार गरिदिएको हो । उनको कानेपोखरी अस्पतालमा स्वास्थ्य चेकजाँच गरिएको थियो ।

लामो समयदेखि बिरामी भई घरमै थलिएर बसेका माझीको पेटको समस्या रहेको बताइन्छ । कलेजो खराब भएको उनले बसेकै ठाउँमा शौच गर्ने र शौच नअडिने समस्या रहेको थियो । पालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारीले नगर प्रहरीको सहयोगमा उद्धार गरी उपचार गरेका हुन् ।

घरनजिकै आफन्त भए पनि घरमा एक्लै बस्दै आएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको गाउँपालिका अध्यक्ष इङ्नामले बताइन् ।

छोराबुहारी भए पनि परिवारमा टेकबहादुर एक्लैजस्तै रहेको वडा सदस्य साउनी माझी बताउँछिन् । घरनजिकै रहेका उनका बहिनीज्वाइँले खाना दिने गरेका थिए । खानेकुरा र सुत्ने बिछ्यौनासमेत नभएका माझीलाई गाउँपालिकाले एकथान खाट, तन्ना, लत्ताकपडा, दाल, १ बोरा चामल र नुन, तेललगायतका सामग्री प्रदान गरेको छ ।