धनकुटा । भीमदल गण धनकुटाले सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।बिहीबार सञ्चालित शिविरको श्री नं.२ बाहिनीका बाहिनीपति सहायक रथी महेशकुमार थापाले समुद्घाटन गरेका थिए ।

शिविरमा स्थानीयलाई साधारण स्वास्थ्य परीक्षण, नाक–कान–घाँटीको परीक्षण, आँखा परीक्षण, दाँतको परीक्षण र औषधि वितरणजस्ता सेवाहरू प्रदान गरिएको थियो ।

स्वास्थ्य परीक्षणको क्रममा बालबालिका ६८ जना, महिला १ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जस अन्तर्गत पुरुष ६० जना र वृद्धवृद्धा ५३ जना गरी जम्मा २ सय ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए ।

शिविरलाई प्राविधिक व्यवस्थापन गर्नको लागि श्री नं.२ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय, धनकुटा अस्पताल, डा. रामप्रसाद पोखरेल आँखा अस्पताल, हलेसी डेन्टल क्लिनिकलगायतले सहयोग गरेका थिए ।

शिविर उद्घाटन कार्यक्रममा श्री नं. २ बाहिनीका बाहिनीपति सहायक रथी महेशकुमार थापा, सहिदभूमि गा.पा.अध्यक्ष मनोज राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी जिल्ला समन्वय समिति, धनकुटाकी उपप्रमुख सावित्रा राई, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, सशस्त्र प्रहरी बल नेपाल धनकुटाका सशस्त्र प्रहरी नायव उपरीक्षक दीपककुमार बलामी, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेल, जालपादेवी मन्दिर व्यवस्थापन समिति छिन्ताङका अध्यक्ष मातृका राईलगायतको उपस्थिति रहेको थियो ।