धनकुटा । धनकुटामा सम्पन्न रोड रेस दौड प्रतियोगिताको खुल्ला तर्फ देवराज बस्नेत र महिलातर्फ सुनकला राईले उपाधि जितेका छन् ।

विश्व मुटु दिवसको अवसर पारेर पूर्वप्रहरी संस्था धनकुटाले आयोजना गरेको खुल्ला रोड रेस दौड प्रतियोगितामा पुरुषतर्फ १५ किलोमिटरको दुरी १ घण्टा १ मिनेटमा पार गर्दै वस्नेत र महिलातर्फ ८ किलोमिटरको दुरी ५६ मिनेट ३७ सेकेण्डमा पार गर्दै सुनकलाले उपाधी जितेका हुन् ।

खुल्ला तर्फ उपाधि जितेका बस्नेतले नगद ३० हजार र महिला तर्फ उपाधि जितेकी राईले नगद १० हजार प्राप्त गरे । यस्तै खुल्ला तर्फ दोस्रो भएका सञ्जय श्रेष्ठले १ घण्टा २ मिनेट, तेस्रो भएका प्रताप खड्का १ घण्टा २ मिनेट ५६ सेकेन्ड र सान्त्वना भएका गोविन्द कार्कीले १ घण्टा ३ मिनेट ४१ सेकेण्ड र याङदेब राईले १ घण्टा ४ मिनेट ३२ सेकेण्डमा दुरी पार गरेका थिए । उनीहरुले क्रमश २० हजार, १० हजार, २ हजार ५ सय र २ हजार नगद जिते ।

यता महिला तर्फ दोस्रो भएकी रेनुका कार्की ५६ मिनेट ३६ सेकेण्ड र तेस्रो भएकी कल्पना राईले ५९ मिनेट ५४ सेकेण्डमा पुरा गरे । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार हात पारेका छन् ।

पूर्व प्रहरी संस्था धनकुटाले आयोजना गरेको प्रतियोगितामा खुल्ला तर्फ ७८ जना र महिला तर्फ ९ जना धावकहरुको सहभागिता रहेका पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए ।  संस्थाले गत वर्ष पनि खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा धनकुटाका धावक डेविट खेवालाई सम्मान गरिएको छ । खेवाले यसअघि धरान धनकुटा ५ घण्टामा र काठमाण्डौ देखि धनकुटासम्म ५६ घण्टा ४७ मिनेट २९ सेकेन्डमा दौड पुरा गरेका थिए । विजयी प्रतियोगिहरुलाई तथा खेवालाई पाख्रिबास नगर प्रमुख ज्ञानबहादुर गुरुङ, पूर्व डिआइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण र सम्मान गरेका थिए ।