धनकुटा । नेकपा (माओवादी केन्द्र)धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरू र जिल्ला सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सह–सचिव ऋषिराम ढुङ्गाना, प्रदेश समितिका १४ जना सदस्य र र जिल्ला सदस्यसहित १ सय ५० जना धनकुटेली माओवादीले सामूहिक राजीनामा दिएका हुन् ।

भण्डारी मङ्सिर ४ गते हुने निर्वाचनमा सङ्घमा आकाङ्क्षी रहेको तर, गठबन्धनबाट तथा पार्टीबाट टिकट पाउने सम्भावना नभएपछि राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता भण्डारीले धनकुटामा आफूहरूले शान्तिपूर्ण ‘रिभोलुसन’ गरेर स्वतन्त्र ढङ्गले जनतामाझ जान लागेको बताए । उनले भने, ‘देश विदेशीलाई बुझाउने, नेता भ्रष्टाचार गर्ने, नेता मोटाउने, देशमा भ्रष्टनचार भयो भनेर बोल्न नपाइने भएपछि बाध्य भएर राजीनामा दिएका हौं ।’

भण्डारीले ११ दिनअघि काठमाडौंमा गएर पार्र्टी अध्यक्ष प्रचण्डसँग राजीनामा दिएर आएको दाबी गरे । आफू यतिका वर्षसम्म पार्टीभित्र दबिएर बस्नु परेको पीडा धनकुटामा ओकल्दा जिल्लामा पार्टी कार्यकर्ताहरूसँग सरसल्लाह गर्दा सहयोग गरेको बताए । उनले भने, ‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ, पार्टीमा न्याय र विधि विधान हराउँदै गएको छ । परिवर्तनका लागि लडेका साथीहरूको पनि भावनामा ठेस लागेको छ ।’

भण्डारीले देशको समग्र रूपान्तरण र नेपाली जनतामा आएको निराशालाई उत्साहमा बदल्नका लागि यो अभियान सुरु गरेको समेत बताए । मोआवादी नेतृ एवम् प्रदेशसभा सदस्य कुसुम श्रेष्ठले पार्टीको केन्द्रीय समिति र प्रदेश समितिको निर्देशनमा मात्र आफू अघि बढ्ने बताइन् । आफूलगायत पार्टीका जिल्लास्तरका नेताहरू नेकपा (माओवादी केन्द्र)मा रहने पनि उनले स्पष्ट पारिन् ।