धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो पाँच बर्षे कार्यकालमा धनकुटाको विकासको लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् ।

आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले विहिवार धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । आर्थिक बर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा ल्याउन सफल भएको सांसद राईको भनाई छ ।

राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माण प्रकृया थालनी देखि प्रदेशकै नमुना विद्यालय निजामति आवासिय विद्यालय धनकुटाको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद राइले बताए ।

उनले अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट विनियोजन गराउन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार वजेट ल्याएर योजना कार्यन्वयन गरिएको बताए ।

साथै, आ.व. २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक बर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउँन सफल भएको उनले बताए ।