धरान / आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्ने बालबालिकालाई लक्षित गरेर लायन्स क्लब अफ धरान पञ्चकन्याले ‘शिक्षाका लागि एक रुपैयाँ’अभियान घोषणा गरेको छ ।

बुधबार धरानमा पत्रकार सम्मेलन गरेर क्लबले अभियानको घोषणा गरेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी, कलम जस्ता शैक्षिक सामग्री वितरण गर्दै आएको क्लबले यसलाई व्यवस्थित रुपमा अघि बढाउन अभियान घोषणा गरेको जनाएको छ । 

यो अभियानका लागि विभिन्न तरिकाले सहयोग गर्न सकिने क्लबकी अध्यक्ष एकता श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार दैनिक एक रुपैयाँका हिसाबले एक महिना, एक वर्ष, पाँच वर्ष र दश वर्षको रकम क्लबलाई सहयोग गर्न सकिने छ । त्यस्तै एकमुस्ट रुपमा ११ हजार १ सय ११ बुझाएर अभियानको आजिवन सदस्य लिन सकिने वा विभिन्न कार्यक्रम अनुसार सहयोग गर्न सकिने क्लबले जनाएको छ । त्यसैगरी विभिन्न व्यापारिक प्रतिष्ठानहरुले आफ्नो कारोबारको प्रत्येक बिलबाट एक रुपैयाँ छुट्याएर सहयोग गर्न सक्ने र दाताहरुले यो अभियानका लागि अक्षयकोष समेत स्थापना गर्न सक्ने बताइएको छ ।

धरानबाट सुरु भएको यो अभियानलाई जिल्ला हुँदै देशभर विस्तार गर्ने लक्ष्य रहेको र यो अभियान अन्तर्राष्ट्रिय लायन्स क्लबसम्म पुग्ने बताइएको छ । पत्रकार सम्मेलनमा क्लब अध्यक्ष श्रेष्ठ, चार्टर प्रेसिडेन्ट सरिता राई गुरुङ, निवर्तमान अध्यक्ष कमला लिम्बु लगायतले जानकारी गराएका थिए ।

पदस्थापन सम्पन्न

IMG-8250

बुधबारै क्लबको पदस्थापन पनि सम्पन्न भएको छ ।

निवर्तमान अध्यक्ष कमला लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिस्टिक गभर्नर धिरज गुरुङ, विशेष अतिथि पूर्व डिस्ट्रिक गभर्नर इन्द्रराजन खत्री लगायतले पदाधिकारीहरुको पदस्थापन गराएका थिए ।

क्लबकी अध्यक्ष एकता श्रेष्ठ, फस्ट जेन्टलम्यान सम्राट श्रेष्ठ, उपाध्यक्ष सिता बिक लगायतका पदाधिकारीलाई पदस्थापन गराइएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले शैक्षिक सामग्रीको अभावमा बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले आफ्नो कार्यकालमा शिक्षाका लागि एक रुपैयाँ अभियान सुरु गरेको बताईन् ।