पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा निशुल्क आँखा शिविरबाट २ सय ५० जनाको दृष्टि फर्किएको छ । असोज १ गतेदेखि ४ दिनसम्म सञ्चालन भएको शिविरमा २ सय ५० जनाको शल्यकृया मार्फत् आँखाको दृष्टि फर्काइएको हो ।

फिदिम नगरपालिकाको ६ लाख रुपैयाँको सहयोगमा जनसेवा समाज पाँचथरले मोतीविन्दुको शल्यक्रिया सहितको ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा १ हजार ८ सय ६ जनाले आँखा चेक जाँच र औषधी सेवा लिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । आँखा अस्पतालका डाक्टर पुरुषोत्तम जोशीको नेतृत्वमा १६ जना स्वास्थ्य कर्मीले मोतिविन्दुको शल्यक्रियासहितको सेवा दिएका थिए । शिविर संचालन अवधिभर नेपाली सेना, सशस्त्र प्रहरीले सहयोग गरेको अधिकारीको भनाइ थियो ।

वर्षेनी बिभिन्न शिविर सञ्चालन गर्दै आएको नगरपालिकाले आँखा शिविरलाई प्राथमिकता दिएको थियो । ग्रामिण क्षेत्रमा आँखाका बिरामीको संख्या बढेपछि आँखा शिविर सञ्चालन गरेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लले बताए । स्थानीयले आँखा शिविर संचालन गर्नुपर्ने माग गरेपछि शिविर सञ्चालन गरेको उनको भनाइ थियो ।

नगरपालिकाले उचित रुपमा बजेटको व्यवस्थापन गरी आगामी दिनमा पनि हाड जोड्नी सम्बन्धी र महिलाको पाठेघर तथा आङखस्ने समस्या रोकथाम गर्ने शिविरहरु सञ्चालन गर्ने जनाएको छ ।

चार दिनसम्म सञ्चालन भएको शिविरको समापन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सह—महामन्त्री भिष्मराज आङ्देम्बेले प्रमुख आथित्वता साथै जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो ।