पथरी । मोरङ कानेपोखरी–७ स्थित कानेपोखरी चोक उत्तरको जङ्गलमा निर्माण गरिएको खानेपानी धारा उद्घाटन भएको छ ।

कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफकाइ समितिको आयोजनामा भएको कार्यक्रममा क्षेत्र नं. ३ (क) का प्रदेश सांसद् सूयर्माराज राईले रिबन काट्दै धारा खोलेर उद्घाटन गरेका थिए । कानेपोखरी चोक क्षेत्र र वडा नं. ५ को लागि खानेपानी विस्तार गरिने समितिले जनाएको छ ।

अहिले ३ किलोमिटर पाइप विस्तार गरिसकेको र कानेपोखरीको चोकका ४९ घरपरिवारमा धारा जडान गरिसकेको कार्यक्रममा कोषाध्यक्ष खगेश्वर खतिवडाले बताए । २ लाख २५ हजार लिटर क्षमता भएको खानेपानीको ट्याङ्की निर्माण भएको छ ।

२०७४ सालमा स्थापना भएको खानेपानीको २०७५ पुस ६ गते शिलान्यास गरिएको थियो । खानेपानीको ट्याङ्की निर्माण सम्पन्न गर्न ३ करोड २ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ खर्च भएको थियो ।

प्रदेश सरकारबाट २ करोड ३९ लाख ४ हजार ७० रुपैयाँ, सङ्घीय सरकारबाट ४५ लाख, कानेपोखरी गाउँपालिकाबाट २ लाख बजेट विनियोजन भएको थियो भने स्थानीय उपभोक्ताबाट ७ लाख २९ हजार रकम खानेपानीको ट्याङ्की निर्माणको लागि सङ्कलन भएको थियो ।

कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मानबहादुर चौहानको अध्यक्षतामा भएको कार्यक्रममा भूमि दुलाल, नवीन राई, हरि पौडेल, सञ्जय भट्टराई र प्रमुख अतिथि सूयर्माराज राईले मन्तव्य दिएका थिए ।