प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मनाउने गरिन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ । 

यस व्रतका क्रममा राति जितवाहन भगवान्को कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारू र मैथिली समुदायको ठूलो चाडका रूपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजाआराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । 

नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको तथ्य नेपालको संविधानले स्वीकार गरेको छ । मुख्यमन्त्री राईद्वारा प्रेषित विज्ञप्तिमा यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको भन्दै सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भनिएको छ । 

सो विज्ञप्तिमा नेपालका जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकुन् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा पनि गरिएको छ ।