बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले युवाहरुले नेपाली राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा राप्रपाको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेसन उद्घाटन गर्दै लिङदेनले संकटमा परेको देश जोगाउन युवाको हस्तक्षेप आवश्यक रहेको बताए ।

‘मुलुक बिदेशीहरुको परेडस्थल भइसक्यो, लिङदेनले भने– ‘बिदेशी हस्तक्षेप रोक्न पनि युवाहरुले नेपालको राजनीतिको बागडोर समाल्ने बेला आइसक्यो ।’ राप्रपा अग्रगामी शक्ति भएको बताउँदै लिङदेनले परिवर्तनकारी युवा राप्रपामा संगठित हुने क्रम बढेको बताए ।

नेपालमा बिदेशी चलखेल बढेको भन्दै लिङ्देनले आत्मसमर्पणवादी प्रवृति बढेको बताएका छन् । उनले विदेशीहरुको लगातारको ओहोरदोहोर समग्र देशको लागि खतरनाक भएको टिप्पणी समेत गरेका छन् । अध्यक्ष लिङ्देनले विदेशीहरुलाई खुशी नपारी नेपालमा राजनीति गर्न सकिदैन भन्ने बुझेर आत्मसमर्पणवादी गठबन्धन दलहरुले विदेशीहरुको आशिर्वाद लिन खोजिरहेकोसमेत टिप्पणी गरे । अब नेपालमा आत्मसमर्पणवादी प्रवृतिलाई परास्त गर्न जरुरी भइसकेको उनको भनाई छ ।

कांग्रेस, एमाले, माओवादीजस्ता दलहरुलाई जति नै वर्ष देश जिम्मा लगाएपनि देश सुध्रिने होइन, झन बर्बाद हुने उनले बताए । ‘कांग्रेस, एमाले र माओवादीलाई कति वर्ष जिम्मा लगाउने ?’ उनले प्रश्न गरे ‘कांग्रेसले २५ वर्ष चलाइसक्यो, एमालेलाई पनि देखिसके अब उनीहरुलाई बिस्थापित गरिनुपर्छ ।’ कांग्रेस एमालेलाई पित्तल र राप्रपालाई अकबरी सुनको संज्ञा दिँदै लिङ्देनले मंसिर ४ को निर्वाचनलाई देश बदल्ने अवसरको रुपमा उपयोग गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।

अधिवेसनबाट संघका बर्तमान अध्यक्ष राजकुमार राईको अध्यक्षतामा ५१ सदस्यिय नयाँ कमिटी गठन भएको छ । राई लिङदेनका बिश्वासपात्र हुन् । कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने नवनिर्वाचित राईले जानकारी दिए । कार्यक्रममा झण्डै ५० जना युवा राप्रपामा प्रवेश गरेका थिए ।