बिर्तामोड । साहित्य चौतारी झापाले बाल दिवसको अवसरमा विभिन्न तीनवटा विधामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गरेको छ । बिर्तामोडमा आयोजित मासिक साङ्गीतिक काव्यसभामा चौतारीले उत्कृष्ट भएका प्रतिभालाई नगदसहित पुरस्कृत गरेको हो ।

अघिल्लो मासिक काव्यसभाबाट साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छानिएका थिए । बाल दिवसका अवसरमा चौतारीले उनीहरु बीच प्रतिस्पर्धा गराएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

‘प्रतिस्पर्धामा उत्कृष्ट भएका बालप्रतिभा पुरस्कृत भएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘बालबालिकालाई हौसला प्रदान गर्नु र उनीहरुको प्रतिभालाई ठाउँ दिनु हाम्रो कर्तव्य हो । साहित्य चौतारीकी सचिव खगिन्द्रा खुशीका अनुसार कवितातर्फ रिया राजवंशी प्रथम भएकी छन् । गायनतर्फ दिया अधिकारी र नृत्यतर्फ श्रेया पौडेलले प्रथम स्थान ओगटेका छन् । उत्कृष्ट बालप्रतिभालाई संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली, अध्यक्ष हस्त परियार लगायतले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा नृत्य निर्देशक बालकुमार कटुवालको विशेष प्रस्तुति रह्यो । अभिनय र कलामा उत्तिकै सक्रिय कटुवाललाई साहित्य चौतारीले २०६३ सालमा कलाकारिता पुरस्कार प्रदान गरेको थियो । साहित्य चौतारीले उत्कृष्ट बाल प्रतिभा रियाज रिजालको प्रमुख आतिथ्य र बालगायिका अनुजा कडरियाको विशेष आतिथ्यमा  कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा इलामेली जेठो, एलसी श्रेष्ठ, समीप खरेल निर्णायकको भूमिकामा थिए । कार्यक्रममा जीवन जगदीश धितालले पनि आफ्नो गायन प्रस्तुत गरेका थिए ।

साहित्य चौतारीले बुधवारको मासिक साङ्गीतिक काव्यसभा वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीमा समर्पित गरेको छ । गायन प्रतिभाका धनी फत्तेमानको नवौँ स्मृति दिवसलाई साहित्य चौतारीले उच्च महत्व दिँदै मासिक काव्यसभा उनैमा समर्पित गरेको हो ।

साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठका अनुसार फत्तेमान २०६२ मा आयोजित साहित्य चौतारीको छैटौँ वार्षिकोत्सव समारोहका सहभागि भएका थिए । ‘मासिक सांगीतिक काव्यसभामा फत्तेमानका सिर्जना प्रस्तुत भएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘साहित्य चौतारीलाई उहाँले लगाएको गुन बिर्सि नसक्नुको छ ।’