धनकुटा । पार्टीबाट राजीनामा दिइसकेका र पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेकाहरूको नाम पार्टी प्रवेशको क्रममा जोडेको भन्दै जनता समाजवादी पार्टी धनकुटाले विरोध जनाएको छ ।
आइतबार जारी विज्ञप्तिमा नयाँ शक्ति पार्टीबाट समायोजन भई आएका वडाध्यक्ष विकास घिमिरेलगायतलाई पार्टीले यसअघि नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको जनाएको हो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी समर्थक वडाध्यक्ष घिमिरे लगायतले गत साउन २२ गते आफू खुसी विज्ञप्ति जारी गरेर जसपा परित्याग गरी अलग रहने घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही विषयलाई लिएर पार्टीको हित विपरीत कार्य गरेको भन्दै जसपा धनकुटाले २०७९ भदौ ११ गते वडाध्यक्ष विकास घिमिरे, श्रीराम रायमाझी, दिलकुमार राईलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको दाबी गरेको छ ।
जसपाका कार्यवाहक जिल्ला अध्यक्ष पार्वती राई र सचिव डम्बर कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीमा नरहेको र कारबाहीमा परेकाहरूको कुनै पनि पार्टीमा प्रवेश गर्दा जसपाको नाम जोडेर सामाजिक सञ्जालमा काङ्ग्रेस पार्टी समर्थित कार्यकर्ताले सस्तो लोकप्रियताको नाममा प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
उनीहरू शुक्रबार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । सामाजिक सञ्जालमा जसपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेको आसयका सूचना बाहिरिएका थिए ।