सुनसरी । शुक्रबार धरानमा आयोजित विचार गोष्ठी कार्यक्रममा सुनसरीमा दुई ठूला नेताका कारण सुनसरी काङ्ग्रेस अप्ठ्यारोमा परेको बताएका नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले आफ्नो बोली फेरेका छन् ।

बीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य वर्तमान शेरबहादुर देउवा सरकारको प्रवक्ता तथा सूचना प्रविधि एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पुराना नेता केन्द्रीय सदस्य विजयकुमार गच्छदारका कारण काङ्ग्रेस सुनसरी अप्ठ्यारोमा परेको उनले अभिव्यक्ति दिएका थिए ।

‘विगतमा धरानको उपचुनावमा उपमहानगरपालिका जित्यौं, अहिले हाम्रो पक्षमा अत्यन्त राम्रो माहोल छ तर, गत स्थानीय तह निर्वाचनमा हामीले किन जित्न सकेनौं, त्यसलाई सोच्नुपर्छ’ उनले भने, ‘माओवादी केन्द्रले धरानको उपमेयर जित्ने काङ्ग्रेसले मेयर हार्ने काहीँ हुन्छ ?’ सोही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इनरुवा नगरपालिकाका मेयरसमेत रहेका उनले अगाडि भने राजीव कोइराला जिल्ला सभापति हुँदा जुन किसिमको सुनसरीमा माहोल थियो, त्यो माहोल अहिले भाँडिएको उनले बताए ।

ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट काङ्ग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई सम्मान गर्ने क्रममा पार्टी अप्ठ्यारो परिस्थितिमा परेको सभापति भण्डारीले बताए । राजीव कोइराला सभापति र आफू काङ्ग्रेस जिल्ला कार्य समितिको दुई पटक सचिव हुँदा स्थानीय नेता कार्यकर्तासँग सल्लाहअनुसार टिकट वितरण गर्दा काङ्ग्रेसले अपेक्षाअनुसार सिट जितेको बताउँदै उनले गत स्थानीय तह निर्वाचनमा भने कार्की र गच्छदारकै कारण स्थानीय तह निर्वाचनमा काङ्ग्रेसले केही ठाउँ गुमाउनु परेको आरोप लगाएका थिए ।

काङ्ग्रेसभित्र गुट उपगुट हावी भएकोे बताउने सभापति भण्डारीले आगामी दिनमा यस्ता कमजोरी सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए । शेखर कोइराला पक्षधर मानिने जिल्ला सभापति भण्डारीले सार्वजनिक कार्यक्रममा संस्थापन पक्षका केन्द्रीय नेता कार्की र गच्छदारको विरोध गरेपछि अहिले सामाजिक सञ्जालमा काङ्ग्रेसकै नेता कार्यकर्ताहरूले उनको विरोध गरिरहेका छन् ।

धरानमा शुक्रबार दिएको अभिव्यक्तिको बारेमा समाचार प्रकाशित भएपछि आफ्नै नेता कार्यकर्ताबाट विरोध हुन थालेपछि भोक्राहा नरसिंह गाउँपालिकामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति भण्डारीले पत्रकारले गलत समाचार सम्प्रेषण गरेको भन्दै ज्ञानेन्द्र कार्की र विजय गच्छदारको विरोध गर्ने आफ्नो हैसियत नभएको भन्दै पन्छिन खोजेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई भोक्राहामा सम्बोधन गर्दै सभापति भण्डारीले भने, ‘पित पत्रकारिता गर्ने पत्रकारको चरित्र राम्रो होइन, सुनसरी क्षेत्र नम्बर ४ का सांसद् हाम्रो नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई आरोप लगाउने ठाउँ छैन । उहाँले आफ्नो क्षेत्रमा भएका सम्पूर्ण स्थानीय तहहरू जिताउन सफल हुनुभएको छ ।’ सोही कार्यक्रममा आफैले दिएको अभिव्यक्ति बारेमा स्पष्टीकरण दिँदै उनले अगाडि भने, ‘विजयकुमार गच्छदारलाई म बच्चैदेखि चिन्छु, उहाँजस्तो नेतालाई मैले अनावश्यक गालीगलौज गर्नुपर्ने कुरा छैन र मेरो गर्ने हैसियत एवम् हिम्मत पनि छैन ।’

सुनसरी सभापति भण्डारीले फरक–फरक कार्यक्रममा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि उनको व्यापक विरोध भइरहेकोे छ । जिल्ला सभापतिजस्तो पदमा भएको व्यक्तिले केन्द्रीय नेताहरूको बारेमा दिएको अभिव्यक्ति सरासर गलत भएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले बताए । बीपीसँग राजनीति गरेका विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीजस्तो व्यक्तित्वको बारेमा सभापति भण्डारीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको उनको भनाइ छ ।

गच्छदार काङ्ग्रेसको रैथाने नेता भएको र कार्कीकै प्रभाव र मार्गदर्शनअनुसार नेपाली काङ्ग्रेसले कहिले नजित्ने कम्युनिष्टको लालकिल्ला वराहक्षेत्रसहित इनरुवा नगरपालिका, भोक्राहा नरसिंह, हरिनगर र कोसी गाउँपालिका काङ्ग्रेसले जित्न सफल भएको सभापति अन्सारीको कथन छ । 

सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत रहेका ३२ वटा वडाहरूमध्ये २०७४ सालको निर्वाचनमा काङ्ग्रेसले १४ वटा वडा जितेकोमा २०७९ सालको स्थानीय तह निर्वाचनमा चारवटा स्थानीय तहका साथै १७ वटा वडालाई कार्कीको प्रभाव र आफूहरूको सक्रियताका कारण जिताउन सफल भएको कोसी गाउँपालिकाका अध्यक्ष समेत रहेका सभापति अन्सारीले बताए ।