प्रसिद्ध धार्मिकस्थल अर्जुनधारामा पर्यटकीय आकर्षण बढाउन परिसर बाहिर कलात्मक स्वागतद्वारलगायतका कलाकृति निर्माण गरिएको छ । धाम क्षेत्रको बाह्य आकर्षण बढाउन अर्जुनधारा नगरपालिकाको रु २८ लाखको लागतमा नगरकै प्रवेशद्वार अर्जुनधारा–६ स्थित महानन्द चोकमा कलात्मक स्वागतद्वार बनाइएको नगरपालिकाका सूचना अधिकृत हेमराज सेढाइँले बताए। 

विर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्रमा बनाइएको स्वागतद्वारको माथिल्लो भागमा महाभारतकालीन युद्धमा अर्जुनले बाण हान्दै गरेको प्रतिमा राखिएको छ भने खम्बाको दुईतिर महानन्द सापकोटा र भानुभक्तको अर्धकदको शालिक बनाइएको छ । महाभारतकालीन पौराणिक आख्यानसँग जोडिएको अर्जुनधारा जलेश्वर धाममा बर्सेनि दशाँैं लाख तीर्थयात्री आउने गर्छन् । पशुपतिनाथको पेगोडा शैलीमा निर्मित यस धामको मूल मन्दिरमा पूजा गर्न दिनहुँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

यही कारण यसलाई पूर्वको पशुपतिनाथको रुपमा पनि चिनिन्छ । धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलले भरिभराउ रहेको अर्जुनधारालाई ऐतिहासिक तथा धार्मिक नगरका रुपमा चिनाउन नगरपालिकाले मन्दिर रहेको शनिश्चरे बजारलाई धार्मिक मान्यता अनुरुपको नगरीको रुपमा विकसित गर्ने कार्य गर्दै आएको छ ।

नगरपालिकाले बजारमा महाभारतकालमा श्रीकृष्ण भगवानले अर्जुनलाई उपदेश दिइरहेको दृश्यबोध हुने विशाल प्रतिमा स्थापना गरिसकेको छ । यहाँ घुम्न आउने यो प्रतिमामा सेल्फी फोटो खिचाउन रुचाउने गरेको स्थानीय यलम्बर साप्ताहिका कार्यकारी सम्पादक राजन साम्पाङ बताउछन् ।

शनिश्चरेलाई झापाकै पुरानो बजार मानिने गरेको हुँदा बजारको बीचमा पचासौँ वर्ष पहिलेको अवस्था झल्काउने गोरुगाडाको विशाल प्रतिमासमेत राखिएको छ । बजार क्षेत्र हुँदै अर्जुनधारा जलेश्वर धाम, सुखानी सहिल स्मृति पार्क, कैदले पर्यटकीयस्थल, शङ्कराचार्य पीठ लगायतका ऐतिहासिक तथा धार्मिकस्थल पुगिने हुँदा यहाँ रात्रिकालीन उज्यालो सौर्य बत्तीको व्यवस्था मिलाइएको छ ।

अर्जुनधारा साहित्य र संस्कृतिको सङ्गमस्थल भएको जनाउँदै अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी सेढाइँले प्रवेशद्वारमा आदिकवि भानुभक्त र महानन्द सापकोटाको सालिक राखिएको बताए । अर्जुनधारामै हुर्किएका कृष्ण धरावासी, सञ्जीव उप्रेती, दुबसु, सरोज ओली, कुमार भट्टराई, जयप्रसाद ढकाल, कृष्ण बराललगायतका साहित्यकार देशकै ख्याति प्राप्त छन् । 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले सय वर्ष पुरानो शनिश्चरे बजारको झल्को दिने उद्देश्यले गोरुगाडा र धार्मिक महत्व दर्शाउन कृष्णले अर्जुनलाई रथमा राखेर गीताको उपदेश दिइरहेको प्रतिमा बनाएर राखिएको बताए । 

ब्याडमिन्टन प्रतियोगिता

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामती कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ । 

सरकारी कर्मचारीको अन्तरनिहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर आज चन्द्रगढीमा आयोजना गरेकोे “सङ्घीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा कनकाई नगरपालिकाका कर्मचारी इन्द्र बजगाइँ प्रथम भएका छन् ।

उनलाई नगद रु १० हजार पुरस्कारस्वरुप प्रमुख अतिथि समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले प्रदान गरेका छन् । यसैगरी प्रतियोगितामा द्धितीय हुने मेची भन्सार कार्यालय काँकरभिट्टाका कर्मचारी टीकाबहादुर थापाले नगद सात हजार प्राप्त गरेका छन् । केन्द्रले दिवसकै अवसर पारेर यही भदौ १९, २० २१ गते आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका प्रथम, द्वितीय र तृर्तीय हुनेलाई आज पुरस्कार प्रदान गरेको छ । 

प्रतियोगितामा प्रथम हुने राष्ट्रिय वाणिज्य बैंक विर्तामोडका प्रज्वल ओझा, खगेन्द्र कन्दङवा, द्धितीय हुने नेपाल विद्युत् प्राधिकरण दमकका धीरेन्द्र बजगाइँ, टङ्कप्रसाद उप्रेती, तृतीय हुने अर्जुनधारा नगरपालिकाका विपीन लम्साल, हेमराज सेडाइँ र झापा जिल्ला अदालतका वीरेन्द्र बस्नेत र रामचन्द्र बस्नेत रहेका छन् । 

उनीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद राशि पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्र न्यौपानेले बताए । कार्यक्रममा जिसस प्रमुख बरालले निजामति कर्मचारीले सेवा प्रवाहलाई अब्बल बनाउन र कर्मचारी तन्त्रभित्र रहेको विकृति, विसङ्गति र कुसंस्कारको अन्त्य गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निजामति ऐन जारी नहुँदा कर्मचारीको वृत्ति विकास र प्रशासनिक सेवामा समस्या भइहरेको बताए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र कर्मचारीको उपस्थिति रहेको थियो ।