धरान। जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई पाँच प्रतिशतमात्रै राजस्व तिर्ने व्यवस्था गर्न आयोगलाई सुझाएका छन् ।

पार्टीको धरान नगर समितिले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष राईले भूमिहीन आयोगले धनीपुर्जामा राजस्व सङ्कलन ५ देखि शतप्रतिशतसम्म लिने प्रावधानप्रति पाँच प्रतिशतमा सीमित गर्न आग्रह गरिएको बताए ।

भूमिहीन आयोगका सुनसरी अध्यक्ष भगीरथ खत्वेले धनीपुर्जा प्राप्त गर्दा भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूले सरकारलाई सरकारी मूल्यको पाँचदेखि सय प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने प्रावधान रहेको बताए । सोही प्रावधानबारे जसपाका अध्यक्ष राईले सुकुम्बासीले त्यति बिघ्न रकम तिर्न सक्ने अवस्था नहुने जनाउ दिँदै पाँच प्रतिशतमा सीमित गर्न सुझाव दिएका हुन् ।

यता आयोगका जिल्ला अध्यक्ष खत्वेले पनि पैसा नहुने भूमिहीन सुकुम्बासीले त्यो प्रावधानअनुसार राजस्व बुझाउन नसक्ने हुँदा जग्गाको भोगचलनमा समस्या आउने बताए । यसका लागि स्थानीय सरकार मुख्य जिम्मेवार निकाय भएकाले नगर प्रमुखसमक्ष यी कुरा राखिएको उनले बतााए ।

हाल सुनसरीको वराहक्षेत्र र धरानबाट धनीपुर्जा वितरण कार्य सुरु गरिएको उनले बताए । उनले धरान उपमहानगरपालिकाको सम्पूर्ण तथ्याङ्क भरिसकेको बताए । आयोगले एक परिवार बराबर कम्तीमा पौने सात धुर जग्गा वितरण गर्ने तयारी गरेको उनले बताए ।

लालपुर्जा पाएको १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी व्यवस्था गरिएको छ । सम्पूर्ण काम सम्पन्न भएपछि वडाबाट निस्सा वितरण सुरु गरिने भएको छ । जसपा सुकुम्बासी समितिका अध्यक्ष केशव कालीकोटेले धरान उपमहानगरभित्र धनीपुर्जा वितरणमा ढिलाइ हुनुमा वडा समिति कारक रहेको बताए ।