भद्रपुर । झापाको भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर शुरु भएको छ । सरिया परिवारको आयोजना, इनर व्हिल क्लब अफ भद्रपुरको सह आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।

भद्रपुर स्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकास सरावगीले उद्घाटन गरेका थिए । दाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको विशेष आतिथ्य रहेको थियो भने रोटरी क्लब अफ भद्रपुर, इनरव्हील क्लब अफ भद्रपुर र मेची आँखा अस्पतालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । 

तालिम संयोजक युवराज वोहोराले सञ्चालन गरेको शिविरको उद्घाटन अवसरमा करिव २ सय जनाको आँखा जाँच,३२ जनाको शल्कक्रिया र ४ जनाको एजेरु पलाएको उपचार गरिएको थियो ।

उद्योेगी चण्डी पराजुलीले स्वागत गरेको कार्यक्रममा इनरव्हील क्लबका अध्यक्ष कुशुम अधिकारी पराजुली,मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी लगायतले शुभकामना मन्तव्य राखेको अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन् । शिविर भाद्र २२ गते सम्म सञ्चालन हुनेछ ।