धरान । नेपाल चिकित्सक सङ्घले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक डा.बसुधा खनाललाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्र्डबाट सम्मानित गरेको छ ।

सङ्घले नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै १५ महिला चिकित्सकलाई गरेको यो सम्मानमा प्रतिष्ठानकी डा.खनाल पनि परेकी हुन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अवार्ड प्रदान गरेकी थिइन् ।

माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाई कदर गर्दै आएकी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा.खनाल धरानमै जन्मिएर, यहीँबाट विद्यालय र विश्वविद्यालयतर्फ आइएस्सीसम्मको अध्ययन गरेकी हुन् । उनलाई तत्कालीन छात्रातर्फको उच्चतम् अङ्क प्राप्त गरेबापत ऐश्वर्या विद्यापदकबाट विभूषित गरिएको थियो ।

नेपाल सरकारको छात्रवृत्ति कार्यक्रममार्फत् पाकिस्तानबाट एमबीबीएस अध्ययन गरेपछि उनी धरानमै आएर प्रतिष्ठानको मेडिकल अफिसर पदमा सेवा सुरु गरेकी थिइन् । डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति विकास कार्यक्रममार्फत् माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर (एमडी) गरेकी हुन् । स्नातकोत्तरमा उनले गोल्डमेडलसमेत प्राप्त गरेकी थिइन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा चिकित्सा विज्ञानसम्बन्धी उनका सयौं लेख, रचना प्रकाशन भएका छन् । कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरियालगायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी उनी हाल नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनकी अध्यक्षसमेत हुन् ।