पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको सुरुआत गरेको छ । कुपोषणलाई शून्यमा झर्ने उद्देश्यले गत शुक्रबारबाट कार्यक्रमको सुरुआत गरेको हो । 

नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विषेश पोषण कार्यक्रम सुरु गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विषेश पोषण कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतका विषयमा तथ्याङ्क राख्ने  र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ । 

बच्चाको  स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरिएको हो । अभियानअन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकालाई लक्षित गरेर तौल जाच्ने मेसिन र पोषण लिटो पनि वितरण गरिएको छ ।

अभियान छ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्याङ्कका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।

प्रदेश नं १ बाट यो गाउँपालिका छनोट भएकाले पाइलट प्रोग्रामका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेश १ का अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उपाध्यायको भनाइ छ । 

बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयं सेविका, आमा समूह, महिला समूहबाट राय सुझाव लिएर कार्यक्रम लागू गरेको भट्टराईको भनाइ छ ।

गाउँपालिकाका बालबालिकालाई प्रयाप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उनको भनाइ छ ।