धरान । परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को २३ औं संस्करण पूरा गरिएको छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै जाँच गरिने क्लिनिकमा ६५ जना सहभागी भएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचापका बिरामीको जाँच गरिँदै आएको अध्यक्ष बरालले जानकारी दिए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहको सहकार्यमा हुँदै आएको परीक्षण कार्यक्रम ११ महिनादेखि गर्दै आएको संयोजक त्रिभुवन बरालले जानकारी दिए । धरान–८ स्थित बुद्ध विहारको सहकार्यमा भएको क्लिनिकमा सहभागीलाई डाक्टर साहले दैनिक हिँडडुल र खानपानमा ध्यान दिन आग्रह गरे ।

यसपटक धरान–१२ स्वास्थ्य चौकीकी नर्स चेतना परियारले उच्च रक्तचाप र अन्य परीक्षणका लागि सहयोग गरेकी थिइन् । बुद्ध विहारका सचिव किरण कार्कीले ज्येष्ठ नागरिकका लागि पुण्य काम गर्न पाउँदा खुसी लागेको बताए ।