विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ शिक्षा तथा कर्मचारीलाई प्रतिष्ठानका महत्वपूर्ण समितिमा प्रतिनिधित्व गराउन मााग गरिएको छ ।

शुक्रबार प्रतिष्ठान अन्तर्गतको  नर्सिङ सङ्घ इकाई समितिले प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रतिष्ठानका महत्वपूर्ण समिति प्रतिनिधित्व गराउन माग गरेको हो । इकाई समितिले प्रतिष्ठानलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै माग राखेको हो ।

प्रतिष्ठानमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारी तथा शिक्षकहरूको पेशागत हकहित, मौलिक अधिकार, सेवा सुविधा र सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रतिष्ठान व्यवस्थापनलाई पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा नर्सिङ पेसालाई प्राविधिक सेवा सुविधासहितको समूहमा समायोजन गर्न, कर्मचारी तथा शिक्षकहरूको खाईपाई आएको सुविधाहरू लागू गर्न, शिक्षक कर्मचारीको छोरोछोरी निम्ति आरक्षित कोटाहरूको व्यवस्था मिलाउन, स्वीकृत दरबन्दीअनुसार शिक्षक तथा कर्मचारीका लागि नयाँ दरबन्दी सिर्जना र सम्पूर्ण तहको विज्ञापन गर्न माग गरेको छ ।

कोरोना महामारीमा खटिएका नर्सहरूको सरकारले तोकेबमोजिम जोखिम भत्ता उपलब्ध गराउनलगायत नेपाल सरकारले तोकेबमोजिम आवास सुविधा, विद्युत् आपूर्ति, खानेपानी आपूर्ति र सिसिटिभीलगायतका १६ बुँदे माग गरेका छन् । यी मागहरू तत्काल सम्बोधन नभए समिति कडाभन्दा कडा सङ्घर्षमा जाने समेत ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।