विराटनगर । ८ साउनमा झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरे । उनीहरूको शव एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्नेमा झापा कचनकवल गाउँपालिका–५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका थिए ।

यस सामूहिक आत्महत्याको घटनालाई झापा प्रहरी र प्रदेश १ प्रहरीले हाल पनि अनुसन्धान गरिरहेको छ । १ नं. प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्क केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । १४ जिल्ला रहेको प्रदेश १ मा आ.व. ०७६÷७७ देखि ०७८/७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३ सय ६३ रहेको छ । यस तथ्याङ्कका आधारमा दैनिक चारजनाले आत्महत्या गरेको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ०७६/७७ मा १ हजार ३ सय ४७, ०७७/७८ मा १ हजार ५ सय १६ जना, ०७८/७९ मा १ हजार ५ सय जनाले आत्महत्या गरेका छन् । गत आ.व.मा आत्महत्याको सङ्ख्यामा सामान्य कमी आए पनि त्यसअघिका दुई वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा हरेक दिन ४ जनाको हाराहारीमा आत्महत्या गर्ने गरेको देखिन्छ । प्रदेश १ को सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा रहेको छ ।

सबैभन्दा बढी झापामा ३ सय ३४ र कम तेह्रथुम जिल्लामा २३ जनाले मात्र आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा देखिन्छ । झापापछि दोस्रोमा मोरङ आउँछ । मोरङमा ३ सय १४, सुनसरीमा २ सय ३, इलाममा १ सय २८, उदयपुर ८४, धनकुटा ४९, पाँचथर ५७, ताप्लजुङ ३५, सङ्खुवासभा ४४, भोजपुरमा ५१, खोटाङमा ६७, ओखलढुङ्गा ५४ र सोलुखुम्बुमा ४७ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको अभिलेखअनुसार १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशतले आत्महत्या गरेको देखिन्छ । आत्महत्याको सबै घटना केलाउँदा प्रहरीले सामान्य परिवारका किशोरकिशोरी र युवाले आत्महत्या गरेको निष्कर्ष निकालेको छ । आर्थिक अभाव, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष/महिलाबीच विवाहेत्तर सम्बन्धलगायत कारणबाट सिर्जित समस्या अविश्वास, प्रतिशोध र निराशा अनि आवेगमा बदलिँदा मानिसले आत्महत्याजस्तो जघन्य अपराधको बाटो रोज्ने गरेको मनोविद्हरू बताउँछन् ।

यस्तै मानसिक रोग, कडा खाले मनोरोग र अन्य कारणले पनि आत्यमहत्या गर्ने गरेको मनोचिकित्सक डा. प्रभात चौरसिया बताउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ । डा. चौरसियाका अनुसार आत्महत्या रोकथामका लागि पहिले अवस्था विश्लेषण गरेर गलत धारणा हटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्छ । आत्महत्या दिनानु दिन बढ्दै गएको र यो सामाजिक अपराधका रूपमा जटिल समस्या बनेर देखापरेको उनी बताउँछन् ।

‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ÷चिनेजानेका बीच जति पनि आपसी कलह÷बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्धरूपमा आपराधिक सोचको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’ आत्महत्यालाई रोक्न सरकारले ठोस नीति बनाएर काम गरिनुपर्ने उनले बताए ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदीप गिरीले आत्महत्या रोक्नका लागि प्रहरीले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए । ‘प्रहरीलाई पूर्व तयारीबारे हुनसक्ने अपराध न थाहा हुन्छ, तर एकै छिनमा हुने वादविवादले निम्त्याउने घटना नियन्त्रण गर्न कठिन हुन्छ’ गिरी भन्छन्, ‘बलात्कारका घटना पनि त्यस्तै हुन् भने आत्महत्या भनेको कुरा पनि मानिसको मनमा हुने कुरा हो, त्यो कुरा प्रहरीलाई थाहा हुँदैन ।’

आत्महत्याको घटना रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने गिरी बताउँछन् । ‘आत्महत्या पनि रोग हो, यी कुरा नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ’ गिरी भन्छन्, ‘त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम गर्ने गरी प्रस्ताव तयार हुँदैछ ।’