विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ की २६ वर्षीया चन्द्रकला रायलाई घाँस काटेको निहुँमा कुटपिट भएको छ । कुटपिटबाट घाइते भएकी रायको नौ दिनपछि उपचारको क्रममा मृत्यु भएको छ ।

रायको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको थियो । रायलाई छिमेकी सङ्गीता रायसहित उनका परिवारले घाँस काटेको निहुँमा साउन १३ गते कुटपिट गरेको उनका पति सकलदीप रायले बताए । उनीमाथि सङ्गीता र उनको परिवारले मुङ्ग्रोलगायतले प्रहार गरी गम्भीर घाइते बनाएको पति सकलदीपले बताए ।

घाइते पत्नीलाई कोसी अस्पतालमा उपचार गरे पनि बचाउन नसकेको उनले बताए । शारीरिक रूपमा कमजोर चन्द्रकलामाथि हातपात र मुङ्ग्रोले प्रहार गरेका कारण ढल्न पुगेको उनले बताए । सकलदीपले भने, ‘उनीहरूले जहानलाई कुटपिट साथै यौनाङ्गमा पनि हात हालेर आक्रमण गरेका रहेछन् । अस्पताल पुर्याउँदासम्म गुप्ताङ्गबाट रगत बगिरहेको थियो ।’ अत्यधिक रक्तश्राव भएका कारण पत्नीको मृत्यु भएको कोसी अस्पतालका चिकित्सकले बताएको पति सकलदीपले बताए ।

विपन्न परिवारका सकलदीपको परिवार दैनिक अर्काकोमा बनिबुतो गरेर गुजारा गर्दै आएको छ । छिमेकी सङ्गीताको घर चन्द्रकलाको घरबाट १० मिटर पूर्वमा पर्छ ।

पत्नीको मृत्युपश्चात् सकलदीपले आक्रमण गर्नेविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ प्रहरीमा आइतबार जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जाहेरी परेको भए पनि घटनास्थल चाहिँ सुनसरी परेकाले थप अनुसन्धानका लागि सुनसरीमा मुद्दा पठाइएको जानकारी दिए ।